काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूले भोगिरहेका समस्या समाधान र उद्यमशीलता विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्रमा बजार विस्तार गर्ने वातावरण बनाइने बताए।
भेटमा महासङ्घले व्यवसायमैत्री वातावरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच, व्यापार मेला, ‘बिजनेस–टु–बिजनेस’ म्याचिङ तथा निर्यात प्रवर्द्धनका कार्यक्रममा अनिवार्य सहभागिताको व्यवस्था गर्न सरकारसँग माग गरेको थियो।
महासङ्घले ‘म उद्यमी ट्रेडमार्क’लाई स्थापित गर्न सरकारको सहयोग, अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा संस्थागत सहकार्य, सार्वजनिक खरिदमा महिला उद्यमीलाई प्राथमिकता तथा सरकारी निकायबाट महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ।
उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म नपुगेको गुनासो गर्दै सहुलियत गाउँ–गाउँसम्म विस्तार गर्न, धितोको वैकल्पिक व्यवस्था गर्न तथा नीति निर्माण प्रक्रियामा महासङ्घको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।
छलफलमा महिला उद्यमशीलता प्रवर्द्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यममैत्री नीतिगत सुधार, सीप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमको दिगो विकासका विषयमा पनि छलफल भएको थियो।


