काभ्रेपलाञ्चोक । पहाडी गाउँका खोच, पाखा र फाँटहरूमा कहिलेकाहीँ सिङ्गो देश भेटिन्छ । माटोको सुगन्धमा, गाउँले अनुहारहरूमा र तिनका संघर्षले छुट्टै कथा बोकेका छन्। नक्सामा गाउँ एउटा नाम मात्र हुन सक्छ, तर त्यहाँ पुग्दा हरेक घर संस्कृति बन्छ, हरेक गोरेटो इतिहास र हरेक मानिस कथा।
काभ्रेको भुम्लु गाउँपालिका–७, फलाँटेका किसानहरूको कथा पनि अहिले यस्तै एउटा नयाँ मोडमा आइपुगेको छ।
केही वर्ष अघिसम्म यहाँका किसानको मुख्य चिन्ता बाँदरको आतङ्क थियो । मकै, कोदो र तरकारी जोगाउन किसानले दिनरात खेतमै बिताउनुपर्ने बाध्यता थियो। बाली पाक्नै नपाई बाँदरको हुलले सखाप पारिदिँदा कतिपय किसानले त खेतीपाती नै छाडेर बारी बाँझै राख्न थालेका थिए। खाडी मुलुकको चर्को घाममा पसिना बगाउन जानु वा काठमाडौँका गल्लीहरूमा थोरै तलबमा काम गर्नु धेरै युवाको बाध्यता बनिसकेको थियो।
तर, सधैँ समस्याको अगाडि घुँडा टेक्नु समाधान थिएन। यही समस्याबीच फलाटेका किसानहरूले व्यावसायिक कफी खेतीलाई एउटा नयाँ र दीर्घकालीन विकल्पका रुपमा रोजेका छन् ।
अहिले फलाँटेका २३ जना किसान एउटै समूहमा आबद्ध भएर कफी खेतीको सुरुवाती यात्रामा छन्। बाँझो बसेको जमिन सदुपयोग गर्दै बाँदरले दुःख दिएको ठाउँमा केही उत्पादन गरेर आम्दानी बढाउने आशा तिनको आँखामा प्रष्ट देखिन्छ।
'अहिले समूहमा काम गर्दा रमाइलो पनि भइरहेछ,' एक स्थानीय किसान भन्छन्, 'मकैभित्रै कफीका बिरुवा रोपियो, धेरैजसो पलाउन पनि थालिसके। कफी ठूलो भएपछि त मकै लाउनै पर्दैन। दुई वर्षसम्म मात्र मकैसँगै राख्ने हो। त्यसपछि त यो क्षेत्र नै हराभरा हुन्छ।'
किसानहरूका अनुसार कफी खेतीको अर्को ठूलो फाइदा भनेको बाँदरले यसको फल खादैन। स्याङ्जा र पोखरातिरको अनुभव हेरेर आएका स्थानीयले सुरुमा बिरुवा अलि जोगाउन सके फल लागेपछि बाँदरको डर नहुने बताएका छन्। पुस–माघको फुर्सदको समयमा कफी टिप्न सकिने भएकाले यो खेती पहाडी जीवनशैली अनुकूल पनि छ।
कफी खेतीको यो अभियानमा युवाहरू मात्र होइन, ७८ वर्षका वृद्ध किसान पनि उत्तिकै उत्साहका साथ लागिपरेका छन्। नयाँ खेती सिक्ने उनको जोस र जाँगर कुनै युवाभन्दा कम छैन।
'बुढो खाडो भए पनि माथिदेखि तलसम्म पहिलाका बाँझिएका पाखाहरू हराभरा बनाउने उद्देश्य छ,' ती वृद्ध किसान गर्वका साथ भन्छन्, 'काठमाडौँमा उकुसमुकुस भएका मान्छेहरू गाउँ फर्किऊन्। यहाँ रोजगार, खानेपानी र सिँचाइको व्यवस्था भयो भने त काठमाडौँमा गिट्टी-बालुवा बोक्ने वा खाडीमा पसिना बगाउनेहरू आफ्नै गाउँ फर्किन्छन् नि!'
युवाहरू पनि अब वैदेशिक रोजगारीभन्दा गाउँमै सम्भावना खोज्न सकिनेमा विश्वस्त देखिन्छन्। माटो छुन र कृषि कर्म गर्न घिनाउनु भन्दा आफ्नै बारीमा कफीका बोट हुर्काएर सरकारले बजारको व्यवस्थापन गरिदिए गाउँमै सम्मानजनक आम्दानी सम्भव रहेको उनीहरूको बुझाइ छ।
कफी आफैँमा छहारी मन पराउने बाली हो। यसलाई ६० प्रतिशत घाम र ४० प्रतिशत छायाँको अनुपात चाहिन्छ। यही प्राविधिक पक्षलाई ध्यानमा राख्दै फलाटेमा कफीका साथसाथै 'मेकाडेमिया नट' र कटहरका बिरुवाहरू पनि लगाइएको छ।
मेकाडेमिया नट बहुगुणी फल हो, जसलाई बाँदरले पनि क्षति पुर्याउँदैन। यसले कफीलाई आवश्यक छायाँ दिने मात्र नभई किसानलाई दोहोरो आर्थिक लाभ पनि दिन्छ।
भुम्लु गाउँपालिकाले पनि यस क्षेत्रलाई 'कफीमय' बनाउने दीर्घकालीन लक्ष्य लिएको छ। स्वास्थ्य र शिक्षापछिको मुख्य प्राथमिकतामा कृषिलाई राखेको गाउँपालिकाले प्रदेश सरकार र स्थानीय समुदायको साझेदारीमा 'एक समुदाय: एक उत्पादन' कार्यक्रम सञ्चालन गरिरहेको छ।
पाँच वर्षसम्म चल्ने यो आयोजनामार्फत गाउँपालिकाले उत्पादन मात्र नभई प्रशोधन, ब्राण्डिङ र बजार व्यवस्थापनसम्मको दीर्घकालीन योजना बनाएको छ।
अहिले यी कफीका बिरुवाहरू कतै नर्सरीमा हुर्किरहेका छन् भने कतै बारीका पाटामा मुस्कुराइरहेका छन्। सुरुवाती चरणमै भए पनि फलाँटेका किसानहरूको सपना भने निकै ठूलो छ।
यदि यो सुरुवात सफल भयो भने, केही वर्षभित्रै फलाँटेका यी नाङ्गा र बाँझा पाखाहरू हरियाली कफी बगानमा रूपान्तरण हुनेछन्। अनि त्यही बगानबाट आउने कफीको सुवासले किसानको जीवनमा समृद्धिको नयाँ ढोका खोल्दै भुम्लु गाउँपालिकाको कृषि अर्थतन्त्रलाई नयाँ पहिचान दिनेछ।


