काठमाडौं । काठमाडौं महानगरपालिका - १६ बनस्थली पावर हाउस नजिकै एक डेराबाट करिब १७ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई उक्त स्थानमा डेरा गरी बस्ने ३८ वर्षीया आशा भण्डारीको कोठाबाट बिहीबार दिउँसो सुनका विभिन्न गरगहना तथा नगद चोरी भएको हो। चोरी भएको धनमालको अनुमानित मूल्य करिब १७ लाख २९ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भई फरार रहेका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो समय डेरा तथा आवासीय घरलाई लक्षित गरी हुने चोरीका घटनामा प्रहरीको निगरानी बढाइए पनि यस्ता घटनाहरू पूर्ण रूपमा नियन्त्रणमा आउन सकेका छैनन्। प्रहरीले घर वा डेरा लामो समय खाली छाड्दा तथा बहुमूल्य सामान असुरक्षित रूपमा राख्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।


