काठमाडौं। फ्रेश वाटर एक्सन नेटवर्क साउथ एसिया (फान्सा नेपाल) को साधारणसभाले १३ सदस्यीय पुरानै कार्यसमितिलाई सर्वसम्मत रूपमा निरन्तरता दिएको छ।
शुक्रबार वातावरण तथा जनस्वास्थ्य संस्था नेपाल (इन्फो) को कार्यालयमा सम्पन्न साधारणसभाले भावना शर्मालाई राष्ट्रिय संयोजक र फेडवासनका अध्यक्ष राजेन्द्र अर्याललाई सहसंयोजकको जिम्मेवारीसहित पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो।
फ्रेश वाटर एक्सन नेटवर्क साउथ एसिया (फान्सा नेपाल ) पानी सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा क्रियाशील नागरिक समाज संस्थाहरूको सञ्जाल हो।
नेपालमा वास सम्बन्धी नीति पैरवी जनचेतना अभिवृद्धि तथा अधिकारका सवालमा नेटवर्कले सदस्य संस्थाहरूसँगको सहकार्यमा काम गर्दै आएको छ।

निरन्तरता पाएकी राष्ट्रिय संयोजक शर्माले नेपालमा वास क्षेत्रको पैरवीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्।
उनले सदस्य संस्थाहरूबीचको सहकार्यलाई थप मजबुत बनाउँदै पानी सरसफाइ तथा स्वच्छतासम्बन्धी सवाललाई नीतिगत तहमा प्रभावकारी रूपमा उठाउने बताइन्।
साधारणसभाले फान्सा नेपालको आगामी कार्यदिशासमेत पारित गरेको छ।
आगामी दिनमा वास क्षेत्रमा नागरिक समाजको भूमिका थप सशक्त बनाउने सदस्य संस्थाहरूबीच सहकार्य विस्तार गर्ने तथा पानी सरसफाइ र स्वच्छतासम्बन्धी अधिकारका सवालमा निरन्तर पैरवी गर्ने विषयलाई प्राथमिकतामा राखिएको जनाइएको छ।


