काठमाडौं। सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई भाइरल ज्वरो र रुघाखोकी देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री लम्साल शनिबार बैतडीको गोठालापानीस्थित हेरिटेज होटलमा आराम गरिरहेका छन्। जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्यायले शनिबार बिहान उनको स्वास्थ्य परीक्षण गरेका थिए।
डा. उपाध्यायका अनुसार लम्सालमा सामान्य भाइरल ज्वरोसँगै रुघाखोकीको समस्या देखिएको छ। चिकित्सकले उनलाई केही समय आराम गर्न सुझाव दिएका छन्।
मन्त्रीका प्राविधिक सल्लाहकार दिनेश रावतले स्वास्थ्य अवस्थाअनुसार लम्साललाई काठमाडौं फर्काउने विषयमा छलफल भइरहेको जानकारी दिए। उनका अनुसार अहिले मन्त्री र उनका पीएसओ मात्रै होटलमा रहेका छन्।
स्वास्थ्यमा समस्या आएपछि लम्सालको बझाङ जानेलगायतका पूर्वनिर्धारित कार्यक्रम प्रभावित भएका छन्।
सुदूरपश्चिम भ्रमणका क्रममा उनले डोटीको बीपीनगर पुगेर धनगढी–दिपायल द्रुतमार्गको अवलोकन गरेका थिए। त्यसपछि दार्चुला पुगेर महाकाली करिडोर तथा जिल्ला अस्पतालको भौतिक संरचनाको निरीक्षण गरेका थिए।
दार्चुलाबाट शनिबार अबेर साँझ लम्साल आफैं गाडी चलाएर बैतडी पुगेका थिए।


