हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पक्ष वा विपक्षमा नउभिने निर्णय गरेको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ रहने निर्णय गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार यस्तो निर्णय गरिएको संसदीय दलका नेता उद्धव थापाले बताए।
राप्रपाले आफ्ना १३ जना प्रदेशसभा सदस्यलाई विश्वासको मतसम्बन्धी मतदानमा तटस्थ रहन ह्विपसमेत जारी गरेको छ।
नेकपा एमालेले गत साउन ६ गते बानियाँ नेतृत्वको सरकारबाट आफ्ना ६ मन्त्री फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो। त्यसपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले निश्चित अवधिभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो।
मुख्यमन्त्रीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। १०४ सदस्यीय प्रदेशसभामा सरकारलाई बहुमत सिद्ध गर्न ५३ सांसदको समर्थन आवश्यक पर्छ।
हाल बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसदको समर्थन रहेको छ। राप्रपाका १३ सांसद तटस्थ बस्ने भएपछि मुख्यमन्त्रीलाई आवश्यक बहुमत पुर्याउन अन्य दल तथा सांसदको समर्थन जुटाउनुपर्ने देखिएको छ।
राप्रपाको निर्णयसँगै मुख्यमन्त्री बानियाँको विश्वासको मत परीक्षण थप पेचिलो बनेको छ। अब प्रदेशसभामा रहेका अन्य दल र स्वतन्त्र सांसदको भूमिकाले सरकारको निरन्तरताबारे निर्णय गर्नेछ।


