काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भदौ २ गते हुने भनिएको वडा अधिवेशन २२ दिन पछि सारिएको छ। केन्द्रीय निर्वाचन समितिले नयाँ मिति भदौ २४ गते तोकेको हो।
कांग्रेसका अनुसार क्रियाशील सदस्यता व्यवस्थापन, पार्टीभित्र सहमति निर्माण तथा वर्षाका कारण अधिवेशन सारिएको हो। सदस्यता सूची अन्तिम रूप दिने, छानबिन तथा उजुरी प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले पनि तोकिएकै मितिमा अधिवेशन गर्न कठिन भएको बताइएको छ।
विशेष महाधिवेशनपछि देउवा र शेखर कोइराला पक्ष असन्तुष्ट रहँदै आएका छन्। सभापति गगन थापाले असन्तुष्ट पक्षसँग सहमति बनाउन समय आवश्यक रहेको बताएका छन्। यहीबीच वडा अधिवेशन सारिएपछि पार्टीभित्रको विवाद व्यवस्थापनका लागि समय लिन खोजिएको चर्चा छ।
विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवादसमेत अदालतमा विचाराधीन रहेकाले कांग्रेसको महाधिवेशन प्रक्रिया थप पेचिलो बन्ने देखिएको छ। देउवा पक्षले नयाँ कार्यतालिका रोक्न अदालत जाने तयारीसमेत गरेको छ।


