काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्तिलाई मजाकका रूपमा व्याख्या गरेका छन्।
बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले सो अभिव्यक्तिबारे प्रश्न गरेपछि गुरुङले आफूले मतदातासँग जोक गरेको प्रतिक्रिया दिए।
‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’ भन्दै उनले सञ्चारकर्मीसँग झोक्किँदै प्रतिप्रश्न गरे।
केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातासँग भेटघाटका क्रममा गुरुङले निर्वाचनका बेला गरेको स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता पूरा नभएको विषय उठेपछि ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति दिएका थिए।
निर्वाचन क्षेत्रका स्थानीयले आफूले निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसार स्वास्थ्य सामग्री उपलब्ध नभएको भन्दै गुनासो गरेका थिए। त्यसक्रममा गुरुङले दिएको अभिव्यक्ति सार्वजनिक भएपछि उनको भनाइलाई लिएर आलोचना भएको थियो। बुधबार भने उनले उक्त अभिव्यक्तिलाई गम्भीर राजनीतिक धारणा नभई मतदातासँग गरिएको ठट्टाका रूपमा प्रस्तुत गरेका हुन्।


