काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकमा पार्टीको आगामी स्थानीय निर्वाचनको तयारीसहित संगठन र उम्मेदवार छनोटसम्बन्धी विषयमा छलफल हुँदैछ ।
वनस्थलीस्थित घण्टीघरमा बिहान ११ बजेपछि बस्ने बैठकमा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने सहभागी नहुने भएका छन् । उनी शुक्रबार बिहान सडकमार्ग हुँदै पोखरा भएर मुस्ताङतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको पुष्टि भए पनि भ्रमणको उद्देश्यबारे भने उनको सचिवालयले जानकारी दिएको छैन । सचिवालयका एक सदस्यका अनुसार भ्रमणबारे जानकारी भए पनि उद्देश्य सार्वजनिक नगर्न निर्देशन दिइएको छ । सुरक्षा अधिकारीहरूलाई समेत भ्रमणको विस्तृत जानकारी नरहेको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह धादिङस्थित नेपाली सेनाको भैरव गणमा समेत पुगेका छन् ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन गर्ने प्रस्तावमाथि छलफल हुनेछ । त्यस्तै ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण तथा संगठन व्यवस्थापन र मनोनयनका विषय पनि बैठकका एजेन्डामा छन् ।
बैठकले केन्द्रीय समिति तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागका प्रमुखको मनोनयनबारे समेत निर्णय गर्नेछ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन गर्ने विषय पनि छलफलमा राखिएको छ ।
यसअघि पनि प्रधानमन्त्री शाह रास्वपाका पार्टीगत बैठकहरूमा तुलनात्मक रूपमा कम उपस्थित हुँदै आएका छन् ।


