काठमाडौं। दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्नो उत्पादन शुद्ध घिउ पहिलो पटक संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा निर्यात सुरु गरेको छ।
रातो चन्द्र सूर्य प्रा. लि. मार्फत ५ लाख ५० हजार रुपैयाँ बराबरको डिडिसी घिउको पहिलो खेप आज दुबईतर्फ पठाइएको हो। दुबईमा घिउको बजार व्यवस्थापन तथा सञ्जाल सञ्चालनको जिम्मेवारी मातृभूमि प्रा. लि. ले लिएको छ।
सम्झौताअनुसार दुबईको बजारमा वार्षिक कम्तीमा ५० हजार मेट्रिक टन घिउ निर्यात गर्ने लक्ष्य राखिएको छ। उपभोक्ताको मागका आधारमा निर्यातको परिमाण बढाउन सकिने संस्थानले जनाएको छ।
संस्थानका अनुसार यूएईमा घिउको आपूर्ति, उपलब्धता र बिक्री मूल्यमा डिडिसीले प्रत्यक्ष निगरानी गर्नेछ। यसबाट यूएईमा रहेका नेपालीहरूले आफ्नै मनपर्ने र परिचित स्वादको डिडिएसी घिउ त्यहाँका डिपार्टमेन्ट स्टोरहरूबाट सर्वसुलभ मूल्यमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
घिउ निर्यात सुरु भएपछि उत्पादन वृद्धि भइरहेको अवस्थामा दुग्ध उत्पादक किसानको दूध सहज रूपमा बिक्री हुने र भुक्तानी नियमित बनाउन सहयोग पुग्ने संस्थानको विश्वास छ।
त्यस्तै, विगतका वर्षमा संस्थानमा मौज्दात रहेको बटरको खपत बढ्ने र बटरमा रोकिएको पुँजी फुकुवा हुने अपेक्षा गरिएको छ। मौज्दात सामान नगदमा रूपान्तरण भएपछि संस्थानको नगद प्रवाह सन्तुलित भई किसानलाई गरिने भुक्तानी चक्र नियमित बनाउन समेत सहयोग पुग्ने जनाइएको छ।
संस्थानले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै दुग्ध क्षेत्रको समग्र विकासमा यो कदम महत्वपूर्ण हुने जनाएको छ।


