Logo

शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३

भदौ २३ : सम्झनामा शहीद, प्रश्नमा सरकार !

भदौ २३ : सम्झनामा शहीद, प्रश्नमा सरकार !

बुधबार, भदौ २४ २०८३
बुधबार, भदौ २४ २०८३
  • काठमाडौं । एक वर्षअघि भदौ २३ गते सडकमा देखिएको युवा आक्रोश अहिले सम्झनाको दिन बनेर फर्किएको छ। परिवर्तनको माग गर्दै सडकमा उत्रिएको जेन जी पुस्ताले गुमाएका साथीहरूको सम्झनामा सोमबार देशका विभिन्न स्थानमा पहिलो ‘जेनजी शहीद स्मृति दिवस’ मनाइयो। कतै श्रद्धाञ्जली, कतै मौनता र कतै त्यही आन्दोलनले बोकेको सपना र अहिलेको राजनीतिक अवस्थामाथि बहस भयो।

    images

    एक वर्षपछि भदौ २३ लाई सम्झिँदा जेनजी पुस्ताका भावनामा भने एउटै रंग छैन। कसैका लागि त्यो दिन पुस्तौँसम्म सम्झिइरहने इतिहासखआ रुपमा छ भने कसैका लागि देशको परिवर्तनका लागि चुकाइएको ठूलो मूल्यका रुपमा सम्झना छ। आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्झिँदै एक युवाले भने, 'हामी त बाँच्यौँ, तर शहीदहरूको योगदानलाई कदर गर्नैपर्छ। आजको परिवर्तन उनीहरूको रगतको मूल्यसँग जोडिएको छ।'

    आन्दोलनपछि राजनीतिक नेतृत्वमा आएको परिवर्तनले धेरै युवामा आशा पनि जगायो। नयाँ सरकार, नयाँ अनुहार र युवा नेतृत्वलाई कतिपयले आन्दोलनका माग पूरा हुने संकेतका रूपमा हेरे। तर एक वर्षपछि ती अपेक्षा कति पूरा भए भन्ने प्रश्न पनि उत्तिकै बलियो बनेको छ।

    केही युवाले वर्तमान सरकारप्रति आशावादी हुँदै सरकारले शून्यबाट काम सुरु गरेको र परिणामका लागि समय दिनुपर्ने बताएका छन्। उनीहरूका लागि परिवर्तन एकै वर्षमा देखिने विषय होइन। 'पाँच वर्षको समय छ, अहिले नै सबै कुरा नतिजामा आउँदैन,' भन्ने धारणा पनि सुनियो।

    तर सबैको अनुभव त्यस्तो छैन। आन्दोलनपछि गरिएका प्रतिबद्धता पूरा हुन नसकेको भन्दै केही जेनजीले असन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी आन्दोलनका घटनाको प्रतिवेदन सार्वजनिक गर्ने, दोषीमाथि कारबाही गर्ने र पीडित परिवारलाई न्याय दिने माग अझै केन्द्रमा रहेको उनीहरूको भनाइ छ।

    आन्दोलनलाई सम्झने क्रममा दुःखसँगै जेनजी आन्दोलनको अर्थ केवल सत्ता परिवर्तन थियो कि राज्य सञ्चालनको शैली परिवर्तन पनि भन्ने अर्को प्रश्न पनि उठिरहेको छ। युवाहरूको आवाजमा यही प्रश्न दोहोरिन्छ। उनीहरू भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार, शिक्षा, रोजगारी तथा जवाफदेहितालाई परिवर्तनको वास्तविक मापदण्ड मानिरहेका छन्।

    कतिपयले वर्तमान सरकारको कामप्रति सन्तुष्टि व्यक्त गरे पनि अपेक्षा अझै ठूलो रहेको बताएका छन्। सरकारी सेवा सहज भएकोदेखि भ्रष्टाचार नियन्त्रणतर्फ सुधार देखिएको दाबी गर्ने आवाज पनि सुनिए। अर्कोतर्फ, पछिल्ला विपद् व्यवस्थापनदेखि दैनिक उपभोग्य वस्तुको सहज उपलब्धतासम्म सरकारले अझै प्रभावकारी काम गर्नुपर्ने सुझाव पनि आएका छन्।

    एक वर्षअघि सडकमा उठेको पुस्ताको आवाज अहिले सरकारसँगको अपेक्षामा बदलिएको छ। भदौ २३ ले दिएको पीडा उनीहरूका लागि केवल विगतको स्मृति होइन, भविष्यको जिम्मेवारी पनि हो।

    शहीदहरूको सम्झनामा श्रद्धाञ्जली दिँदै जेनजी पुस्ताले सरकारलाई परिवर्तनको नाममा बनेको सरकारलाई अब परिवर्तनको परिणाम देखाउनुपर्ने सन्देश दिइरहेको छ।

    भदौ २३ इतिहासमा लेखिएको दिन होला, तर त्यस दिन उठेका प्रश्नहरूको उत्तर भने अझै लेखिन बाँकी छ। 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij