Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

प्रहरीमाथि आक्रमण गर्ने लुटेरा गिरोहका नाइके पक्राउ

प्रहरीमाथि आक्रमण गर्ने लुटेरा गिरोहका नाइके पक्राउ

कोटेश्वरमा प्रहरीमाथि हतियार प्रहार, गोली लागेपछि लुटपाट गिरोहका नाइके पक्राउ

बिहीबार , असोज २२ २०८३
बिहीबार , असोज २२ २०८३
  • काठमाडौं । काठमाडौंको कोटेश्वर जडिबुटी क्षेत्रमा गोली प्रहार गरी प्रहरीले लुटपाट तथा चोरीमा संलग्न गिरोहका नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका ५ घर भई हाल काठमाडौंको कलंकी ढुंगेअड्डा बस्दै आएका २६ वर्षीय आयन माझी मकवानपुर बकैया गाउँपालिका –७ घर भई भक्तपुरको ठिमी नगरपालिका ४ बस्ने मनोजकुमार मोक्तान र राकेश थिङ रहेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ गर्ने क्रममा उक्त समूहले प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गरेको थियो। त्यसपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको थियो भने स्थिति नियन्त्रणमा लिन माझीको घुँडामुनि एक गोली प्रहार गरिएको थियो।

    प्रहरीका अनुसार माझी नेतृत्वको समूहले पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, हातहतियार देखाएर सुनका गरगहना तथा नगद लुट्ने लगायतका आपराधिक गतिविधि गर्दै आएको थियो। उनीहरूले लुटपाटका क्रममा नक्कली नम्बर प्लेट भएका मोटरसाइकल र हातहतियार प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    करिब ८–९ महिनाअघि उक्त समूहले रातिको समयमा दुई तीन वटा मोटरसाइकलमा तीन तीन जनाको समूह बनाएर सार्वजनिक सडकमा हिँडिरहेका व्यापारीलाई लक्षित गरी लुटपाट गरेको प्रहरीको भनाइ छ। त्यस क्रममा व्यापारीहरूबाट सुनका गरगहना तथा नगद लुटिएको थियो।

    प्रहरी अनुसन्धानका क्रममा यसअघि पनि आयन माझीको नेतृत्वमा रहेको समूहका १० जनालाई पक्राउ गरी चोरी तथा डाँका मुद्दामा अनुसन्धान गरिएको थियो।

    त्यसैगरी, भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बैंकका एटीएम बुथमा भएको लुटपाटमा समेत यही समूह संलग्न रहेको प्रहरीले जनाएको छ।

    माझी यसअघि पनि आपराधिक गतिविधिमा पक्राउ परिसकेका व्यक्ति हुन्। उनी २०७७ सालमा डाँकाचोरी मुद्दामा तीन महिना कैद बसेर धरौटीमा छुटेका थिए। पुनः ६ महिना कैदको फैसला भएपछि २०८२ वैशाखमा पक्राउ परेका उनले तीन महिना कैद भुक्तान गरेको प्रहरीले जनाएको छ।

    काठमाडौं बाहेक जिल्ला प्रहरी परिसर भक्तपुर र इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेमा समेत माझीविरुद्ध डाँकाचोरीसम्बन्धी २७ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी दिलीप कुमार घिमिरेले घटनाबारे जानकारी दिँदै पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताएका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij