धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौँदी क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
शुक्रबार साँझ सडकको करिब १०० मिटर भागमा चिरा परेको र करिब २० मिटर सडक भासिएपछि उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको हो।
सडकको किनारासम्मै चिरा परेकाले थप सडक भासिने तथा पहिरो जाने जोखिम बढेको छ। सम्भावित दुर्घटना हुन नदिन र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको बताइएको छ।
प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा मूल्यांकन गरेपछि मात्र सडकको वास्तविक अवस्था र पुनः सञ्चालनबारे निर्णय गरिने जनाइएको छ।
सडक बन्द भएपछि पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। सडक पुनः सञ्चालनमा आउने समयबारे भने हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन।


