Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

मन्त्रीको धम्की: 'नत्र अनुगमन टोलीको जागिर खाइदिन्छु'

मन्त्रीको धम्की: 'नत्र अनुगमन टोलीको जागिर खाइदिन्छु'

बिहीबार , साउन २९ २०८२
बिहीबार , साउन २९ २०८२

  • काठमाडौं । साउनको अन्तिम बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली नियमित अनुगमनका क्रममा कालोपुल स्थित  जेभियर्स इन्टरनेसनल कलेजमा पुग्यो। उक्त कलेजले अनुमतिबिना नै शैक्षिक मेला गर्न लागेको आधिकारिक उजुरीपछि विभागको टोली त्यहाँ पुगेको हो ।  तर अनुगमनका लागि गएको टोली कलेजमा पुग्नासाथ त्यहाँ खैलाबैला  भयो।

    images

    अनुगमन टोली भित्र छिर्दा कलेज परिसरमा विद्यार्थीहरु बिना पोशाक लहरै कुर्सिमा बसेका थिए। उनीहरुले भने, 'हामी ए लेभल, दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हौँ । हाम्रो सिईओसँग मिटिङ् छ ।' त्यहीबीचबाट अनुगमन टोली सरासर कलेजको पहिलो तल्लामा पुगेर मेला अनुमतिका कागजात माग्न थाल्यो ।आफूसंग पेश गर्न कागजात नभएपछि कलेज प्रशासनले विवाद सुरु गर्यो  । केहीबेरमा एमालेका निकट मानिने कलेजका सञ्चालक लोकबहादुर भण्डारी आइपुगे । उनले आफ्नो राजनीतिक दम्भ देखाउँदै विभागको टोलीको अपमान गर्दै अपशब्द प्रयोग गरे । भण्डारीले धम्कीपूर्ण आवाजमा अनुगमन टोलीमाथि अभद्र व्यवहार गरेको अनुगमन टोलीमध्य एकजानाले जानकारी दिए । भण्डारीले जागिर नै खाइदिने सम्मको धम्की दिए ।

    उनले प्रधानमन्त्री कार्यालयमै फोन गर्न खोजे । त्यहाँ सम्पर्क नभएपछि उद्योगमन्त्री दामोदर भण्डारीलाई फोन गरे । मन्त्री भण्डारीले फोनमै तत्काल फर्किन भनेपछि निरिह भएर अनुगमन टोली फर्किनुपर्यो । एकातिर कलेजले  प्रशासन विभागलाई बारम्बार भनिरहेको थियो, 'तपाईंहरु बिना कागजात किन आउनुभयो ? हामीले गरेको काम गैरकानुनी होइन ।' अर्कोतिर विभागको टोली  भन्थ्यो, 'हामी उजुरी आएपछि आएका हौँ । विदेश जानको लागि प्रशिक्षण गराउने वा उद्दत गराउने काम एउटा कलेजले गर्नु गैरकानुनी हो ।' 

    उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार विभागले संबिधानको धारा ४४ मा उल्लेखित मौलिक हक दिलाउनका लागि वस्तु तथा सेवा बजारलाई व्यवस्थित गर्ने काम गर्नुपर्छ । सोही ऐन अनुसारको उजुरीमा गएको तर कलेज प्रशासन अपमानजनक शैलीमा उत्रिनु निकै गलत भएको विभागको दाबी छ ।  विभागका महानिर्देशक कुमार दाहाल भने, 'हामी कानुन अन्तर्गत  रहेर अनुगमनमा गएका हौं । उनीहरुको शैली गलत हो।'

    विदेशमा विद्यार्थी पठाउने उद्देश्यले गरिने शैक्षिक मेलाहरु एजुकेसन कन्सल्टेन्सीले मात्रै गर्न पाउने कानूनी प्रावधान रहेको छ ।  तर, उक्त कलेजले भने अस्ट्रेलियाको विश्वविद्यालयमा विद्यार्थी पठाउने उद्देश्य राख्दै शैक्षिक मेला गर्न थालेपछि गत साता नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले विभागमा लिखित उजुरी दिएको थियो । इक्यानका अध्यक्ष शेषराज भट्टराईले शिक्षा क्षेत्रमा भइरहेका यस्ता विकृति देखेर चुप लाग्न नसकिने बताए । उनले भने, 'हामीले शैक्षिक मेला गर्न लागेको थाहा पाएर कानूनी कारबाहीको माग गर्दै आधिकारिक निकायमा उजुरी दिएका हौं । त्यसै अनुसार उहाँहरुले कदम चालेको थाहा पाएको छु ।'

    तर, विभागले सम्बन्धित निकाय, शिक्षा मन्त्रालय तथा विभागसँग समन्वय नगरेको कारण यस्ता समस्या आएको विज्ञहरु बताउँछन् । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन्, 'वस्तु तथा सेवाको उपभोक्ता बजारमा कयौं समस्या छन्, विभागले पहिला यिनिहरुको हल गर्नुपर्छ । यस्ता विषयमा जाँदा सम्बन्धित निकायसँग समन्वय गर्नुपर्छ नत्र यस्तै समस्या हुन्छ ।'


    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij