Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

‘मलाई अस्पताल पुर्‍याउने भाइ कहाँ छ?’

‘मलाई अस्पताल पुर्‍याउने भाइ कहाँ छ?’

बिहीबार , असोज ९ २०८२
बिहीबार , असोज ९ २०८२
  • aamba.jpg

    images

    काठमाडौँ । पेप्सीकोला निवासी अम्बादत्त भट्ट अपाङ्गता भएका व्यक्ति हुन् । भदौ २३ गते बिहानै देशभर नवयुवा अर्थात जेन–जीले आन्दोलन उद्घोष गरेको थियो । आन्दोलनको बिहानसम्म कसैले कठिन स्थितिको अनुमान गरेको थिएन । अम्बादत्तले पनि त्यस्तो केही भेऊ पाएनन् । 

    एक जना आफन्तको लागि औषधी लिन भन्दै उनी वीर अस्पतालका लागि निस्के । पेप्सीकोला चोकबाट एउटा पठाओमा चढेर बानेश्वरतर्फ हिडे । कोटेश्वर नपुग्दै सडकमा विभिन्न प्लेकार्ड बोकेका युवाहरू देखिए पनि खासै वास्ता गरेनन् अम्बादत्तले । जब उनी चढेको पठाओ भिडभाड ठेल्दै तिनकुने पुग्यो । अवस्था अर्कै बनिदियो । भिडभाड देखेर हतोत्साहित पठाओ राइडरले आफू अघि बढ्न नसक्ने भन्दै अम्बादत्तलाई चोकमै छोडिदिए । जोखिम मोल्न नचाहेका राइडरलाई अम्बादत्तले रोक्न खोजे तिनकुनेमै छोडिदिए र आफ्नो बाटो लागे ।

    करिब तीन घण्टासम्म तिनकुनेको चर्को भिडभाडमा रुमल्लिएका अम्बादत्तले बल्लतल्ल एक अफलाइन राइडरलाई भेटे । अम्बादत्तले सुरक्षाका लागि शंखमूलको बाटो जाने अनुरोध गरे पनि राइडरले माहोल शान्त भएको दाबी गर्दै उहाँलाई फेरि नयाँ बानेश्वरतर्फै लगे ।

    स्कूटरमा रहेका राइडर पछाडि अम्बादत्तलाई राखेर मिनभवन क्याम्पस नजिकै, सिभिल अस्पतालको अगाडि पुग्दा डरलाग्दो अवस्था बन्यो । संसद भवनतिरबाट आएको (सायद रबरको) गोली सिधै पठाओ राइडरको पाखुरामा लाग्यो । गोली लागेर राइडर ढले, र नजिकै रहेका अम्बादत्तको हातमा पनि सामान्य चोट लाग्यो।

    स्थिति झन् भयावह बन्यो । त्यही बेला, केही युवाहरूले उहाँहरूलाई उद्धार गरे । ती युवाहरूले आन्दोलनकारीले फुटाई धुजा–धुजा बनाएको एम्बुलेन्समा अम्बादत्त र घाइते राइडरलाई चढाएर तत्काल ट्रमा हस्पिटल पुर्‍याए ।

    ट्रमाको आपत्कालीन कक्ष (इमर्जेन्सी)मा गम्भीर घाइते राइडरलाई लगियो भने अम्बादत्तलाई भने वीर अस्पताल लगियो । अम्बादत्तलाई सामान्य चोट मात्र लागेकोले सामान्य उपचारपछि सोही दिन घर पठाइयो । अहिले अम्बादत्तको मनमा  आफूसँगै घाइते भएका त्यो अपरिचित युवा राइडरको चिन्ता छ । आफूलाई स्कूटरमा राखेर अस्पताल लैजाने क्रममा पाखुरामा गोली लाग्ने ती युवालाई एक पटक भेट्ने र उनको हालखबर बुझ्ने अम्बादत्तको ठूलो चाहना छ ।

    उनीसँग त्यो घटनाको अनुहार प्रष्ट नदेखिने एउटा फोटो बाहेक केही प्रमाण छैन, जुन उनले एम्बुलेन्समा राख्दा खिचेका थिए । यति ठूलो आन्दोलन र भिडभाडको बीचमा जीवनकै जोखिम मोलेर सेवा दिने र त्यस क्रममा आफैं घाइते भएका ती व्यक्तिलाई भेटेर धन्यवाद दिन अम्बादत्त दिनहुँ कोसिस गरिरहेका छन् ।

    ’जसले मलाई अस्पताल पुर्‍याउने क्रममा आफ्नो पाखुरामा गोली खायो, त्यो भाइ अहिले कस्तो छ होला? मलाई एकपटक भेट्न पाए हुन्थ्यो,’ अम्बादत्त भावुक हुँदै भन्छन् ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij