Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

म भन्दा अघि मर्न पाइँदैन है...

म भन्दा अघि मर्न पाइँदैन है...

सोमबार, मंसिर ८ २०८२
सोमबार, मंसिर ८ २०८२
  • काठमाडौँ । आजभन्दा करिब ४० वर्षअघिको समय जतिखेर जातजाति बीचको दूरी निकै फराकिलो थियो र समाजको सोच कठोर थियो, त्यतिखेर प्रेम सम्बन्ध गाँसियो पोखराका ६७ वर्षीया  गोमा थापा मगर केसी र ७२ वर्षीय जय बहादुर केसीको । एक क्षेत्री केटा र मगर केटीबीचको यो अन्तरजातीय प्रेम विवाह संघर्ष, त्याग र एकअर्काप्रतिको अटल विश्वासको एउटा ज्वलन्त उदाहरण हो ।

    images

    उनीहरूको यो यात्रा सहज थिएन । परिवार र समाजको अनुमतिबिना विवाह गरेको यो जोडीले धेरै उतारचढाव सहनुप¥यो । धेरैले रोक्न खोजे, तर हरेक अप्ठ्याराभन्दा ठूलो उनीहरूको प्रेम थियो । उनीहरूको प्रेम कथाको सबैभन्दा रोचक पक्ष नै विवाह हो । भागेर पोखरा पुगेपछि तालबाराही मन्दिरमा भएको पहिलो विवाहमा जम्मा २ सय रुपैयाँ खर्च भयो । जय बहादुरका क्याम्पसका साथीहरूको सहयोगमा विवाह सम्पन्न भएको थियो । एक जना साथीले मन्दिरसम्म पु¥याउन ट्याक्सीको व्यवस्था गरे, अर्काले भोजको व्यवस्था गरे । पण्डित पनि सित्तैमा पाइयो त्यो बेला र सिन्दूर, पोते र टिका गरेर जम्मा २ सय रुपैयाँ मात्रै खर्च भयो ।

    अन्तरजातीय विवाहकै कारण उनीहरूले परिवारको स्विकृति पाउन निकै संघर्ष गर्नुप¥यो । शुरुमा जयरामका बुवाले धेरै दिनसम्म खाना पनि खाएनन् । तर, पछि शिक्षित परिवार र बुवा इन्डियन आर्मीबाट अवकाश प्राप्त भएको हुनाले बिस्तारै माहोल सहज बन्दै गयो ।

    संघर्षको एक वर्षपछि दुवै परिवारले यो जोडीलाई स्वीकार गरे । जय बहादुर गर्वका साथ भन्छन्, ‘हाम्रो विवाह तीन पटक भयो, पहिले मन्दिरमा, दोस्रो पटक बुवाआमाले बाजागाजासहित घरमा भित्र्याएर र तेस्रो पटक गोमाको माइती पक्षले पनि बाजा बजाएर खुसीसाथ कन्यादान गरे ।’


    उनीहरूको ४० वर्ष लामो सफल दाम्पत्यको सबैभन्दा ठूलो रहस्य हो अर्थ मन्त्रालयको भन्दा बढी पारदर्शी हिसाब–किताब ।  सन् २०५६ सालदेखि आजसम्म उनीहरूले हरेक दिनको आम्दानी र खर्चको विवरण एउटा डायरीमा लेखेर राख्छन् । बेलुकाको १० मिनेट दैनिक हिसाब गर्ने, मासिक कूल रकम निकाल्ने र वार्षिक योजना बनाउने उनीहरूको नियम छ ।

    जय बहादुर भन्छन् ‘सायद अर्थ मन्त्रालयको भन्दा बढी पारदर्शी होला हाम्रो यहाँ दुवै जनाले हस्ताक्षर गर्ने हो । यहाँसम्मकी हाम्रो गाउँ टोलमा कसको बिहे भयो, को कहिले कहाँबाट फर्कियो भन्ने कुराको पनि रेकर्ड मसँग छ ।’यस पारदर्शितालेनै उनीहरूलाई पैसाको विषयमा कहिल्यै विवादमा आउन दिएन । विवाहपछि अभावमा पनि उनीहरूले एकअर्कालाई पढ्नका लागि प्रेरित गरे । गोमा थापा मगरलाई श्रीमानको साथले नर्सिङ पढ्न पाल्पा जान हौसला मिल्यो । उता जय बहादुरले पनि जियोग्राफी र बाल मनोविज्ञान जस्ता विषयहरू पढाउँदै ३० वर्ष शिक्षण पेसामा बिताए । 

    उनीहरूको जागिरको जीवन पनि उदाहरणीय छ । लोकसेवाबाट नाम निकालेपछि दुवै जनालाई जागिर एकै ठाउँ कर्णाली अञ्चलको डोल्पा जिल्लाको सदरमुकाम दुनैमा प¥यो । उनीहरूले एउटै क्वार्टरमा बसेर स्वास्थ्य र शिक्षा क्षेत्रबाट डोल्पाको सेवा गरे । उनीहरूको इमान्दारिताका कारण कसैले दुःख दिएन, बरु दुवैजनाले राष्ट्रिय शिक्षा पदक र गोर्खा दक्षिण बाहु जस्ता राष्ट्रिय सम्मान प्राप्त गरे ।  उनीहरूले जात र लिङ्गको विभेद लाई कहिल्यै स्विकारेनन् । तीन जना छोरी मात्रै जन्मिँदा पनि उनीहरूलाई छोराको चाहना कहिल्यै भएन । उनीहरूका छोरीहरू आज उच्च शिक्षित (मास्टर्स र एमफिल) छन् र उनीहरूले ज्वाइँहरूबाट पनि उत्तिकै माया र सहयोग पाएका छन् ।

    अहिले ७२ वर्षको उमेरमा पनि जय बहादुर  दैनिक १० किलोमिटर हिँड्छन् र घरका सामान आफैं किनेर ल्याउँछन् । यो जोडीको प्रेमको अन्तिम गन्तव्य पनि भावनात्मक छ । श्रीमतीलाई हेर्दै जय बहादुर भन्छन्, ‘म भन्दा अघि मर्न पाइँदैन है । किनभने तिमीलाई हेरेर मर्नुपर्यो नि त म ।’

    समाजको रूढिवादलाई प्रेमले जितेर, अभावलाई पारदर्शी व्यवस्थापनले टाँरेर, र बुढ्यौलीलाई आपसी हेरचाहले सिँगारेको यो दाम्पतीको जीवन आज पनि एकअर्काप्रति अटल माया र विश्वासको बलियो स्तम्भ बनेको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij