Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

सरसफाइका ३ दशक, एक सफाइ कम्पनीको कथा

सरसफाइका ३ दशक, एक सफाइ कम्पनीको कथा

शुक्रबार, फागुन १ २०८२
शुक्रबार, फागुन १ २०८२
  • काठमाडौं। शहर सफा देखिनु सामान्य होइन। त्यसको पछाडि निरन्तर मेहनत गर्ने हातहरू हुन्छन् तर यस्तो कम देखिन्छ । बिहानै टोल–टोलमा सिटी बजाउँदै पुग्ने फोहोरका गाडी, घरघरबाट झोला संकलन गर्ने कामदार, वर्गीकरण केन्द्रमा छुट्याइँदै गरेको फोहोर—यी सबै दृश्य शहरको दैनिकी जस्तै लाग्छन्। तर त्यही दैनिकीभित्र व्यवस्थित प्रणाली, अनुशासन र दीर्घकालीन सोच लुकेको हुन्छ। फोहोरमैला व्यवस्थापन जस्तो कठिन र उपेक्षित मानिने क्षेत्रमा २०५४ सालदेखि निरन्तर रूपमा काम गर्दै आएको हिमालयन वातावरण संरक्षण प्रा.लि. त्यस्तै एक उदाहरण हो।

    images

    संस्थाका अध्यक्ष भूपाल आचार्य झण्डै ३० वर्षदेखि फोहोर व्यवस्थापनसम्बन्धी सामाजिक अभियानमा सक्रिय छन्। स्थापना २०५४ सालमै भए पनि संस्थाको सक्रिय काम २०६५ सालपछि व्यवस्थित रूपमा विस्तार आचार्य बताउँछन्।

    सुरुवाती दिनहरू सहज थिएनन्। काठमाडौँका धेरै स्थानमा फोहोर अव्यवस्थित रूपमा थुप्रिने, जनचेतना न्यून रहने र व्यवस्थापन प्रणाली कमजोर हुने अवस्था थियो। यो सबै अवस्था देखेका उनले सोचे- अब सहर सफाइको अभियान थाल्नुपर्छ। यो बेला सुरु भएको यो अभियान आज विभिन्न नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढिरहेको छ।

    संस्थाको काम केवल घरघरबाट फोहोर उठाउनेमा सीमित छैन। ‘संकलित फोहोरलाई संकलन केन्द्रमा पुर्‍याएर वर्गीकरण गरिन्छ’, आचार्य बताउँछन्, ‘जैविक र अजैविक फोहोर छुट्याइन्छ, पुनःप्रयोग गर्न सकिने सामग्री अलग गरिन्छ, र बाँकी फोहोर अन्तिम व्यवस्थापनका लागि पठाइन्छ।’ यो प्रक्रिया नियमित, अनुशासित र प्राविधिक रूपमा समन्वित हुन्छ। फोहोरलाई जथाभावी थुपार्ने संस्कृतिबाट व्यवस्थित व्यवस्थापनतर्फ लैजानु नै संस्थाको मूल उद्देश्य हो।

    घरघरबाट फोहोर संकलन गर्ने, सडक र सार्वजनिक स्थल सफा राख्ने, समुदायमा सरसफाइको बानी विकास गर्ने जस्ता कामहरू बाहिरबाट हेर्दा सामान्य लाग्न सक्छन्। तर ती कामको निरन्तरता आफैंमा ठूलो उपलब्धि हो। यस क्रममा संस्थाले धेरैलाई रोजगारी दिएको छ। कामदारहरूले स्थायी आम्दानी पाएका छन्, परिवार चलाएका छन् र समाजमा उनीहरूको श्रमप्रतिको दृष्टिकोण क्रमशः सकारात्मक बन्दै गएको छ। ‘पहिले फोहोरसँग जोडिएको कामलाई हेर्ने दृष्टि हिचकिचाहट र संकोचको थियो भने अहिले त्यसलाई आवश्यक र जिम्मेवार सेवाका रूपमा स्वीकार गर्न थालिएको छ’, आचार्य बताउँछन्।

    संस्थाले फोहोर व्यवस्थापनलाई सरसफाइमा मात्र सीमित नराखी फोहोर वर्गीकरण, कम्पोस्टिङ र जनचेतनासँग जोड्दै आएको छ। जैविक फोहोरलाई पुनःप्रयोग गरेर मल उत्पादन गर्ने अभ्यासले फोहोरमै आर्थिक मूल्य हुन सक्छ भनेर सिकाएको छ। ‘काम नलाग्ने’ भनेर फ्याँकिने वस्तु नै स्रोत बन्न सक्छ भन्ने दृष्टिकोणले व्यवस्थापनको दायरा फराकिलो बनाएको छ। सही तरिकाले हेर्ने हो भने समस्या ठानिएको फोहोरमै सम्भावना लुकेको हुन्छ भन्ने उदाहरण संस्थाले व्यवहारमै देखाएको छ।

    अहिले संस्थाले टोखा नगरपालिका, काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडामा सेवा दिँदै आएको छ। नियमित संकलन, व्यवस्थापन र सचेतनामूलक कार्यक्रममार्फत शहरलाई सफा र व्यवस्थित राख्ने काम गरिराखेको छ। सफा सडक, व्यवस्थित फोहोर र सचेत समुदाय बनाउन लागिपरेको छ।

    लामो समयदेखीको आफ्नो प्रयासले सार्थकता पाएकोले आचार्य गर्व गर्छन्। यस्ता उपलब्धिमा दैनिक रूपमा खटिने श्रमिक, व्यवस्थापन टोली र संयोजन गर्ने नेतृत्वको पनि ठुलो हात भएको भन्छन्।

    भूपाल आचार्यका अनुसार फोहोर व्यवस्थापन जटिल र बहुआयामिक काम हो। यसमा स्थानीय सरकार, समुदाय र राज्यको सहकार्य अपरिहार्य हुन्छ। नीतिगत स्पष्टता, जग्गा व्यवस्थापन र दीर्घकालीन योजना बिना फोहोर व्यवस्थापन प्रभावकारी हुन सक्दैन।

    यो संस्था कुनै ठूलो दाबीका लागि होइन, तर निरन्तर कामको सम्मानका लागि सम्झन योग्य छ। किनकि फोहोर सही रूपमा व्यवस्थापन भयो भने त्यो बोझ होइन, अवसर बन्छ। रोजगारी बन्छ, आम्दानी बन्छ र स्वच्छ वातावरणको आधार बन्छ। यही सरल तर गहिरो सन्देश संस्थाले व्यवहारमै सिकाएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij