काठमाडाैं। काभ्रेका ७३ वर्षीय हर्क बहादुर तामाङको जीवनको लामो यात्रामा धेरै उकाली-ओरालीहरू आए। सात दशकभन्दा लामो यो समयमा उनले समाज र देशमा ठूला परिवर्तनहरू आएको अनुभव गरेका छन्। अहिले उनी काठमाडौं बस्न थालेको १० वर्ष भयो। उनका सन्तानहरू सहरमै पढ्ने भएकाले उनी पनि गाउँ छोडेर यतै आउनुपरेको हो।
तर काठमाडौंको यो बसाइ उनका लागि त्यति सहज छैन, किनकि उनको मन सधैँ काभ्रेकै पाखा-पखेरामा डुलिरहन्छ। उनी भन्छन्, ‘छोराछोरीलाई गाउँमै खेतीपाती गर भन्दा मान्दैनन्, अहिले त सबै जमिन बाँझो भइसकेको छ। 'आफूले पसिना बगाएको जमिन बाँझो भएको देख्दा धेरै नरमाइलो लाग्छ। कहिलेकाहीँ त आफैँमा अझै खेतीपाती गर्न सक्ने क्षमता भएको भए म त गाउँमै फर्किन्थेँ, तर के गर्नु शरीरले सकिँदैन, त्यसैले बाध्यताले पनि यतै बसिरहेको छु।’
उनले सम्झिएको काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक छ। उनी भन्छन्, ‘पहिला काठमाडौं जंगलै जंगल थियो, खेतीपाती हुन्थ्यो, सबैजना सँगै काममा जान्थे। तर अहिले त मानिस हिँड्ने समेत बाटो छैन, धेरै परिवर्तन भइसकेको छ।’ कुनै समय छोराछोरीलाई सहरबाट कपडा किनेर लैजान मात्र काठमाडौं छिर्ने बहादुर अहिले आफैँ यहीँको भीडको एउटा हिस्सा बनेका छन्।
पछिल्लो समय देशको राजनीतिमा आएको नयाँ मोडलाई उनले नजिकबाट नियालिरहेका छन्। उनी भन्छन्, ‘सत्तामा गएका व्यक्तिले सबैलाई राम्रो गरून् र देश बनाऊन्, त्यति भए हामीलाई पुग्छ। नयाँ पिँढीले देश फेर्नेछ भन्ने आशा छ, तर कहिलेकाहीँ फेरि पहिलाकै जस्तो गर्छन् कि जस्तो पनि लाग्छ। धेरै विश्वास पनि लाग्दैन, किनकि पहिलाका नेताहरूले नि देश बनाउँछौँ, राम्रो गर्छौँ भन्थे तर भनेजस्तो काम गरेनन्।’
'अब राम्रो काम गरे भने लामो समयसम्म टिक्छन्, तर राम्रो काम गरेनन् भने ५ वर्ष पनि टिक्दैनन्। सरकारमा युवाहरू आउँदा खुसी लागेको छ। किनकि पहिलाका सबैले आफ्नो पेट भरे, जनतालाई भोको राखे। अबकाले भने यस्तो नगरून् भन्ने आशा छ।’
उनको पुस्ताले आफ्नै गाउँ, पुरानो जीवनशैली, संस्कृति, रीतिरिवाज र धर्मलाई ठूलो मान्छन्, तर नयाँ पुस्तामा भने धेरै परिवर्तनहरू आइसकेका छन्। आफ्नो पुस्ता र नयाँ पुस्ताबीचको यो अन्तरलाई पनि उनले नजिकबाट महसुस गरेका छन्। तैपनि उनी आशावादी छन् र भन्छन्, ‘अबका सत्ताले देश फेर्नेछन्।’


