Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

‘गृहमन्त्रीको राजीनामा फिर्ता गर’

‘गृहमन्त्रीको राजीनामा फिर्ता गर’

बिहीबार , वैशाख १० २०८३
बिहीबार , वैशाख १० २०८३
  • काठमाडौं। गृहमन्त्री सुदन गुरुङले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेसँगै राजधानीको माइतीघर मण्डलमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। 'मिडिया ट्रायल' को भरमा राजीनामा दिइएको भन्दै सयौँको सङ्ख्यामा उत्रिएका युवाहरूले मन्त्री गुरुङको पक्षमा र सरकारको पछिल्लो नीति विरुद्ध चर्को नाराबाजी गरेका छन्। आन्दोलनकारीले 'जेनजी' नेतृत्वको यो सरकारमाथि षड्यन्त्र भएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा फिर्ता हुनुपर्ने माग राखेका छन्।

    images

    आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले गृहमन्त्री गुरुङको बचाउ गर्दै उनीमाथि लगाइएको आरोपलाई निराधार बताएका छन्। आन्दोलनको अग्रपङ्क्तिमा रहेका एक प्रदर्शनकारीले आक्रोशित हुँदै भने, 'यो सरकारलाई पनि च्यालेन्ज नै हो। सुदन गुरुङ त्यसै नाखाबाट दूध खाएको होइन। सुदन गुरुङ ढुक्क आउनुस्, तपाईंलाई गोर्खाबाट आशाको केन्द्र बनाएर बहुमतको साथ जनताको मतदानले पठाएको हो, कुनै व्यक्तिको झोले र पकेटबाट बनाएको होइन।'

    प्रदर्शनकारीहरूले नेपालको पुरानो राजनीतिक प्रणाली र वैदेशिक प्रभावमा चल्ने नेताहरूको कडा आलोचना गरेका छन्। उनीहरूका अनुसार यो आन्दोलन रगतले ल्याएको परिवर्तनको रक्षाका लागि हो। 'अब नेपालका जनता सधैँभरि यिनै झोले विदेशका दलाल नेताका पछाडि यिनको झोला बोकेर, यिनीहरूको दुई चार पैसा खाएर आफ्ना छोराछोरीलाई लथालिङ्ग पार्ने पक्षमा छैनन्।' उनीहरूले पुरानो 'साँठगाँठ' को राजनीति अब चल्न नदिने चेतावनी समेत दिएका छन्।

    उनीहरूका अनुसार गृहमन्त्रीले अनुसन्धानलाई सघाउनु पर्ने तर पद नै त्याग्नु पर्ने अवस्था थिएन। उनले भने, 'मिडिया ट्रायलकै भरमा राजीनामा दिनु मलाई उपयुक्त लाग्दैन। १५ दिन पनि हाम्रो गृहमन्त्रीलाई बस्न नदिई मिडिया ट्रायल गरेर घोर विरोध गरिन्छ भने त्यसमा हाम्रो युवा पुस्ता एकदमै असन्तुष्ट छ।'

    आन्दोलन केवल राजीनामामा मात्र सीमित छैन। सरकारले हालै सीमा नाकाहरूमा लागू गरेको '१०० रुपैयाँभन्दा माथिको सामान ल्याउँदा कर लाग्ने' नीतिको पनि व्यापक विरोध भइरहेको छ। प्रदर्शनकारीहरूले भने, 'सरकारले लागू गरेको १०० रुपैयाँ भन्दा माथिको सामान ल्याउँदा कर लाग्ने नीति खारेज गरियोस्। यसले जनताको ढाड सेकेको छ। महँगी घटाइयोस् भन्दै हामी सडकमा उत्रिएका हौँ।'

    आन्दोलनकारीहरूले मन्त्री गुरुङको शेयर कारोबार र व्यावसायिक पृष्ठभूमिमाथि उठेका प्रश्नहरूको पनि प्रतिवाद गरेका छन्। उनीहरूले यो सामान्य व्यावसायिक प्रक्रिया भएको तर्क गर्दै भने, 'अहिले १२ कक्षा पढ्ने बच्चाहरूले पनि शेयर खरिद बिक्री गर्छन्। यो सामान्य कुरा हो, यसलाई जोडी राख्ने कुरै हुँदैन। समाजसेवा गर्दा चोरदेखि डाक्टरसम्म सँग संगत गर्नुपर्ने हुन्छ। राहत बाँड्न सधैँ आफ्नै पैसाले सकिँदैन, फन्ड आएकै ठाउँबाट गर्ने हो। यसमा ठुलो इस्यु नै छैन।'

    आन्दोलनकारीहरूले सरकारलाई चेतावनी दिँदै यदि राजीनामा स्वीकृत भए पनि गुरुङलाई पुनः नियुक्ति दिलाउन आफूहरू लड्ने बताएका छन्। 

    माइतीघरमा भएको यो प्रदर्शनले नवगठित सरकारभित्रको आन्तरिक दबाब र युवा पुस्ताको आक्रोशलाई छर्लङ्ग पारेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij