काठमाडौं। उपत्यकाको एउटा व्यस्त चोकमा लक्ष्मी कुमारी सत्याल उभिरहेकी भेटिन्छिन्। उनको नजरमा गाउँका ती रित्ता घरहरू झल्किरहन्छन्। जहाँ हिजोआज युवा भेटिँदैनन्। कि त लौरो टेक्ने वृद्धहरू छन्, कि त तोते बोली बोल्ने बालबालिका।
लक्ष्मी भन्छिन् 'अहिले गाउँमा कोही मर्दा मलामी जाने मान्छे छैन।' उनी कुनै साधारण यात्री होइनन्। उनी एउटा प्रतिष्ठित सरकारी जागिर छोडेर देश जोगाउने अभियानमा हिँडेकी यात्रु हुन्। धेरैले सोधे, 'किन छोड्नुभयो त त्यो सुखको ओहोदा?' उनको जवाफ सरल छ 'आफ्नो माटोमा ढिँडो खाएर बाँच्नु अर्काको मेजमानी भन्दा धेरै प्यारो हुन्छ।'
लक्ष्मीलाई कहिलेकाहीँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा कुनै युद्धभूमिको सम्झना आउँछ। जहाँ कुनै शत्रुले होइन, आफ्नै देशको विवशताले हजारौँ युवालाई लखेटिरहेको छ।
उनी भन्छिन्, 'विदेश भनेको विदेश हो, नेपाल जस्तो कहिले हुँदैन। आफ्नो जन्मेको भूमिमा ढिँडो-पिठो खाए पनि अर्काले दिएको मेजमानी भन्दा त्यही ढिँडो-रोटोले नै मानिसलाई अगाडि बढाउँछ।' उनको बुझाइमा ज्ञान र सीप सिक्न विदेश जानु गलत होइन, तर त्यहाँ सिकेका क्षमतालाई आफ्नै मातृभूमिमा दुई थोपा पसिना बगाएर सिञ्चित गर्नुपर्छ।
झापाका सडकहरू देख्दा उनलाई खुसी लाग्दैन, 'दुर्गमका ती नानीहरूको सम्झना आउँछ जो डोकोमा भविष्य बोकेर तुइनको एउटा पातलो तारमा झुन्डिएका छन्। म मेरो ठाउँको लागि मात्र स्वार्थी हुन सक्दिनँ तुइनमा साना बच्चाहरूले जीवनको आहुति दिँदै, मरिन्छ कि बाँचिन्छ भनेर शिक्षा लिन तुइन चढ्ने ती बच्चाहरूलाई हेर्छु। यस्तो भेदभाव हुनु हुँदैन, यसको विरुद्ध लड्नुपर्छ।'
जागिर छोडेपछि उनले एउटा पुस्तक लेखिन्, 'पृथ्वी पथ: लुकाइएको इतिहास' उनी भन्छिन् हामीलाई स्कुलमा उल्टो इतिहास पढाइयो। 'मलाई मेरो बुबाले जन्म दिनुभयो भने मैले उहाँको अस्तित्व मेटाउन मिल्दैन यो देश बनाउने राजाहरूको इतिहास मेटाएर देश समृद्ध हुँदैन रहेछ। सबै नियम, ऐन र कानुन राजा महेन्द्र र वीरेन्द्रले ल्याएका हुन्, तर आज त्यसलाई उल्टो पढाइँदै छ।'
अन्याय सहनु पनि अन्याय नै हो भन्ने भगवान् कृष्णको उपदेशलाई शिरोधार्य गर्दै लक्ष्मी अहिले गाउँ-गाउँ पुग्ने सपना बुन्दैछिन्। उनलाई लाग्छ यो देश अहिले 'टुहुरो' भएको छ। एउटा अभिभावक बिनाको घर जस्तो।
'सन्तानको जति माया एउटा अभिभावकलाई हुन्छ, अरुलाई हुँदैन। पहाड र तराईलाई एउटै मालामा उनेर फेरि एउटा समृद्ध र हिन्दु अधिराज्य नेपाल नबनेसम्म मेरा पाइलाहरू रोकिने छैनन्।'
जब उनी बोल्न छोड्छिन्, तब सबैकाे मनमा एउटा गहिरो प्रश्न गुन्जिन सक्छ- के युवालाई आफ्नै माटोमा फर्कने वातावरण देला त यो देशले?


