काठमाडौं। वीरगन्जको माटोमा हुर्किएकी १७ वर्षीया तबस्सुम खातुन यतिबेला संघीय राजधानी काठमाडौँको माहोलमा छिन्। कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा रहेकी उनको आँखामा आफ्नै भविष्यको सपना मात्र छैन। देशको बिग्रँदो अवस्थाप्रति एउटा सचेत नागरिकले देख्ने चिन्ता र सुधारको स्पष्ट खाका पनि छ। वीरगन्जदेखि काठमाडौंसम्मको यात्रा तय गर्दा उनले समाजका विभिन्न पत्रहरूलाई नजिकबाट नियालेकी छन्।
देश परिवर्तनको मुख्य आधार शिक्षालाई मानिन्छ, तर के हाम्रो वर्तमान शिक्षा प्रणालीले त्यो आधार तयार गरिरहेको छ त? तबस्सुमका अनुसार नेपालको विकासमा सबैभन्दा ठूलो बाधक नै हाम्रो फितलो शिक्षा नीति हो। उनी प्रश्न गर्छिन्, 'के हाम्रो शिक्षाले हामीलाई मागी खाने कि गरी खाने बनाउँदैछ?'
शिक्षा क्षेत्रमा रहेका कमिकमजोरीहरूले गर्दा दक्ष जनशक्ति पलायन भइरहेको छ भन्छिन् उनी। 'हाम्रो शिक्षा क्षेत्रमा यति धेरै कमिकमजोरीहरू छन् कि जसका कारण देशले गति लिन सकेको छैन।' आजको मुख्य प्रश्न यो हो के राज्यले प्रदान गरिरहेको शिक्षाले युवाहरूलाई स्वदेशमै उद्यमी बन्न प्रेरित गर्छ कि खाडीको तातो बालुवामा पसिना बगाउन तयार पारिरहेको छ?
नेपालको मुख्य पुँजी मानिने युवा शक्ति दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिरहेका छन्। आखिर किन युवाहरू आफ्नै देशमा भविष्य देखिरहेका छैनन्? यसको उत्तर खोज्दै तबस्सुम भन्छिन्, 'यदि नेपालमा पनि विदेशमा जस्तै न्यूनतम सेवा सुविधाहरू हुन्थ्यो भने कोही पनि बिदेसिने थिएन।'
'विदेशमा पाइने अवसर र सुविधा स्वदेशमै उपलब्ध गराउन सके युवा र पैसा दुवै रोकिने छ। हामीले आफ्नो देशको मुख्य पुँजी, युवा शक्ति र देशको पैसा दुवै बाहिर पठाइरहेका छौँ' उनले भनिन्। यो प्रक्रियाले देशलाई दीर्घकालीन रूपमा कुन अवस्थामा पुर्याउला? के राज्यले यो नोक्सानीको हिसाब राखेको छ? खातुनका यी प्रश्नहरूले नीति निर्माण तहलाई गम्भीर चुनौती दिएका छन्।
नेपाललाई कृषिप्रधान देश भनिन्छ, तर बिहान-बेलुकाको छाक टार्न अर्बौँको खाद्यान्न आयात गर्नुपर्ने तितो यथार्थ हामीसामु छ। यस्तो अवस्थामा हामी कसरी आत्मनिर्भर बन्न सक्छौँ? तबस्सुमको विचारमा अबको सरकारले परम्परागत खेती प्रणालीलाई त्यागेर कृषिमा आधुनिकीकरण र व्यवसायीकरण ल्याउनैपर्छ।
उनी प्रश्न गर्छिन्, 'किन हामीले आफ्नै देशमा उत्पादन गरेर आफैँमा निर्भर बन्न सक्दैनौँ?' उनले भनिन्, 'हामीले अरूको मुख ताक्नुभन्दा आफ्नै जमिनलाई हराभरा बनाउन सके मात्रै साँचो अर्थमा देश विकास हुनेछ।' के राज्यले किसानलाई उचित अनुदान, प्रविधि र बजारको ग्यारेन्टी गर्न सक्छ?
१७ वर्षको उमेरमा तबस्सुमले बोकेको यो जोश र दृष्टिकोण केवल उनको व्यक्तिगत विचार मात्र होइन, यो ती हजारौँ युवाहरूको प्रतिनिधित्व हो जो देशमै केही गर्न चाहन्छन्। विडम्बना, यस्ता युवाहरूको आवाज र ऊर्जालाई राज्यले अझै पनि सही रूपमा चिन्न र उपयोग गर्न सकेको देखिँदैन।
अहिलेको समय भाषण र आश्वासनको होइन, युवाहरूले औँल्याएका यी आधारभूत समस्याहरूको समाधान खोज्ने र उनीहरूलाई देशमै भविष्यको सुनिश्चितता गराउने बेला हो। तबस्सुमको यो स्पष्ट दृष्टिकोणले एउटा कुरा प्रष्ट पारेको छ युवाहरू देश बनाउन तयार छन्, मात्र राज्यले उचित बाटो र अवसरको ढोका खोलिदिनुपर्छ।


