सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर स्थानीय युवाको मृत्यु भएको घटनालाई लिएर सिरहाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग केही समय ठप्प पारेका हुन्।
मंगलवार सिरहाको गोलबजार नगरपालिका–८ स्थित चोहर्वा (पुरानो चोक) तथा धनगढीमाई नगरपालिकाको कसहा क्षेत्रमा भेला भएका प्रदर्शनकारीले सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए।
प्रदर्शनका क्रममा स्थानीयले सुनसरी घटनामा राज्यपक्षबाट अत्यधिक बल प्रयोग भएको आरोप लगाउँदै नाराबाजी गरेका थिए। उनीहरूले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने, गोली चलाउने प्रहरी अधिकारीमाथि कानुनी कारबाही गरिनुपर्ने र प्रहरी दमन तत्काल रोक्नुपर्ने माग अघि सारेका छन्। प्रदर्शनकारीहरूले सरकारको फितलो शान्ति-सुरक्षा व्यवस्थाप्रति आक्रोश जनाउँदै प्रधानमन्त्री तथा गृहमन्त्रीको राजीनामा समेत मागेका थिए।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा मुस्लिम र हिन्दु समूहबिच उत्पन्न विवाद र झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनापछि मधेशका विभिन्न जिल्लामा सुरक्षा संयन्त्र र सरकारविरुद्ध असन्तोष बढेको छ।
आन्दोलनका कारण पूर्व-पश्चिम राजमार्गमा केही समय सवारी साधन ठप्प बनेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार प्रदर्शनकारीहरूसँगको संवाद र पहलपछि करिब आधा घण्टापछि राजमार्ग पुनः सुचारु गराइएको छ।
सम्भावित तोडफोड वा अप्रिय घटना हुन नदिन र शान्ति-सुरक्षा कायम राख्न सिरहाका विभिन्न राजमार्ग क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


