कञ्चनपुर । बेदकोट नगरपालिका–५ पोल्खरी धरमपुरका अव्यवस्थित बसोवासीले आफूहरूले लामो समयदेखि भोगचलन गर्दै आएको तथा नाप नक्सासमेत भइसकेको जग्गाको कानुनबमोजिम जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन माग गर्दै आज सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई कञ्चनपुरमा ज्ञापनपत्र बुझाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी बेदकोट–५ वडा समितिको अगुवाइमा बुझाइएको ज्ञापनपत्रमा दशकौँदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय विभिन्न आयोग तथा समितिमार्फत पटक–पटक प्रक्रिया अघि बढे पनि हालसम्म जग्गाधनी पुर्जा पाउन नसकेको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा २०५५ सालतिर चलनभोगका आधारमा जग्गाको नाप नक्सा गरी फिल्डबुक तयार गरिएको तथा पछिल्लो पटक आर्थिक वर्ष २०७७/७८ मा समेत बेदकोट नगरपालिकाको क्षेत्रमा नापी गरिएको दाबी गरिएको छ।
स्थानीयका अनुसार पछिल्लो नापीमा सम्बन्धित जग्गाधनी छिमेकी नगरपालिका तथा नापी कार्यालयका प्रतिनिधिको रोहवरमा चलनभोगअनुसार जग्गा नाप नक्सा गरिएको थियो। सोही आधारमा नापी कार्यालयमा फिल्डबुक तथा नक्सा कायम गरी कानुनी प्रक्रिया पूरा गरेर पुर्जा उपलब्ध गराउन उनीहरूले माग गरेका छन्।
ज्ञापनपत्र बुझाउँदै स्थानीयले दशकौँदेखि भोगचलन गर्दै आएको जग्गाको समस्या अब पनि अनिर्णित नराखी कानुनी प्रक्रिया पूरा गरी स्थायी समाधान गर्न मन्त्री रावलमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।


