काठमाडौं । प्राकृतिक विपद् कहिले आउँछ, कहिले जान्छ यसको कुनै निश्चित समय हुँदैन। विपद् पर्दा बालबालिकादेखि वृद्धवृद्धासम्म सबै प्रभावित हुन्छन्। विपद्ले कसैलाई एउटा व्यवहार र कसैलाई अर्को व्यवहार गर्दैन। मानिस होस् वा जनावर, भौतिक संरचना होस् वा प्राकृतिक संरचना यसको प्रभावबाट कोही पनि टाढा रहन सक्दैनन्।
यस्तो तहसनहसको अवस्थाबाट ज्यान जोगाउन सबै भाग्छन्। कोही सफल हुन्छन्, कोही असफल। तर उमेरले साथ छोड्दै गएका, सामान्य हिँडडुल गर्नसमेत कठिन हुने ज्येष्ठ नागरिकले विपद्को समयमा के गर्छन्?
अहिले गाउँघरमा प्रायः वृद्धवृद्धा मात्रै छन्। छोराछोरी रोजगारी, शिक्षा र अवसरको खोजीमा सहर वा विदेश पुगेका छन्। कतिपय घरमा वृद्ध दम्पती मात्रै छन्। त्यसैले प्राकृतिक विपद् आइपर्दा सबैभन्दा नाजुक अवस्थामा पुग्ने समूहमा उनीहरू पनि पर्छन्।
बाढी होस्, पहिरो होस् वा भूकम्प विपद्को पहिलो असर नै ज्येष्ठ नागरिकमा पर्ने गरेको अनुभव ज्येष्ठ नागरिकको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूको छ। २०७२ सालको भूकम्पदेखि पछिल्ला बाढीपहिरो र कोभिड–१९ महामारीसम्म ज्येष्ठ नागरिक बढी प्रभावित हुने समूहका रूपमा देखिएको उनीहरूको भनाइ छ।
उनीहरू प्राय घरमै हुनु नै यसको एउटा प्रमुख कारण हो।
परिवारका युवा सदस्य बाहिर हुँदा गाउँको घरमा रहेका ज्येष्ठ नागरिकसँग तत्काल सहयोगका लागि परिवारको सदस्य हुँदैन। बाजुरामा पहिरो जाँदा काठमाडौं वा विदेशमा रहेका छोराछोरीले खबर त पाउन सक्छन्, तर घटनास्थलमा तत्काल पुग्न सक्दैनन्। उनीहरू पुग्दासम्म धेरै ढिलो भइसकेको हुन सक्छ।
विपद्को क्षणमा यो दूरी केवल भौगोलिक दूरी हुँदैन। त्यो सहयोग र असहायताबीचको दूरी पनि बन्न पुग्छ।
विपद् सकिएपछि पनि ज्येष्ठ नागरिकका समस्या सकिँदैनन्। घर भत्किएपछि कहाँ बस्ने, नियमित औषधि कसरी खाने, दैनिक खाना कसरी जुटाउने र परिवारको सहारा कहिले पाइने भन्ने प्रश्न उनीहरूका अगाडि रहिरहन्छन्।
त्यसमाथि एक्लोपन अर्को समस्याको रुपमा रहेको छ।
संयुक्त परिवारको संरचना कमजोर हुँदै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लै बस्न बाध्य छन्। छोराछोरीको रोजगारी, शिक्षा र बसाइँसराइसँगै गाउँबाट सहर र विदेशतर्फ जाने क्रम बढ्दा घरमा बाँकी रहने वृद्धवृद्धाको सामाजिक घेरा साँघुरिँदै गएको छ।
एक्लोपन केवल कसैसँग कुरा गर्न नपाउनु मात्र होइन। यसले मानिसको मानसिक अवस्थामै असर पार्न सक्छ।
यस्तो अवस्थामा प्राकृतिक विपद् थपिएपछि उनीहरूको मानसिक बोझ झन् बढ्न सक्छ।
अर्को समस्या आर्थिक निर्भरता हो। नेपाली समाजमा छोराछोरीलाई सम्पत्ति बाँडेर बुढेसकालमा उनीहरूले हेरचाह गर्ने अपेक्षा अझै बलियो छ। तर छोराछोरी टाढा हुँदा सम्पत्ति दिएर मात्रै सुरक्षा सुनिश्चित हुँदैन। विपद्का बेला तत्काल उपचार, खाना, बसोबास वा अन्य आवश्यकता परे उनीहरूलाई आफ्नै स्रोत र निर्णय क्षमतामा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ।
त्यसैले ज्येष्ठ नागरिकलाई विपद्को समयमा उद्धार गरिनुपर्ने कमजोर समूहका रूपमा मात्र हेरेर पुग्दैन। विपद् आउनुअघि नै उनीहरूको अवस्था पहिचान गर्नुपर्ने आवश्यकता देखिन्छ।
अझ महत्वपूर्ण कुरा, ज्येष्ठ नागरिकको उमेर बढ्दैमा उनीहरूको क्षमता समाप्त हुँदैन। गाउँघरमा ७०–८० वर्षका मानिस अझै पनि बाँसका सामग्री बनाउने, नाम्लो बुन्ने, आरनमा औजार बनाउने वा जुत्ता बनाउनेजस्ता सीपमा सक्रिय रहेका छन् ।
तर समाजले ६० वर्ष पार गरेपछि ‘अब केही गर्न सकिँदैन’ भन्ने धारणा बनाइदिँदा उनीहरूको सक्रियता खुम्चिन्छ। परिवारले ‘अब यो काम नगर्नुस्’ भन्न थाल्छ, राज्यले पनि उनीहरूको क्षमता र सीपलाई उत्पादनसँग जोड्ने पर्याप्त वातावरण बनाउन नसकेको गुनासो छ।
यहि विषयमा हामीले जेष्ठ नागरिक महासङ्घका राष्ट्रिय अध्यक्ष सूर्य प्रसाद श्रेष्ठसँग बाढी पहिरो लगायतका विपत्तिमा वृद्धवृद्धाहरू मा पर्ने असर, पछिल्लो समय अघिल्लो पुस्ताको सवालमा उठिरहेका मुद्दाहर, उनीहरूले भोगिराख्ने समस्या र राज्यले उनीहरुलाई हेर्ने दृष्टिकोणबारे कुराकानी कुराकानी गरेका छौँ।


