Logo

बिहीबार , असोज २९ २०८३

बिहीबार , असोज २९ २०८३

‘लोभीको भाँडो कहिल्यै भरिँदैन’

‘लोभीको भाँडो कहिल्यै भरिँदैन’

बिहीबार , भदौ २५ २०८३
बिहीबार , भदौ २५ २०८३
  • काठमाडौं । कहिलेकाहीँ गाउँ सम्झिँदा सबैभन्दा पहिले घर, खेतबारी वा बाटो भन्दा गाउँका छिमेकी र अन्य मानिस सम्झिन्छन्। कहिले काहिँ आँगनभरि हुने जमघट, मेलापातमा जुटेका छिमेकी, चाडपर्वको रौनक र दुःख–सुखमा एकअर्कालाई सघाउने पुरानो चलन पनि सम्झिन्छन् । तर समयसँगै गाउँको त्यो तस्वीर पनि फेरिएको छ।

    images

    अहिले ७० वर्ष पार गरेर ७१ वर्ष लागेका तिर्थप्रसाद बजगाईँ स्वास्थ्य उपचारका कारण काठमाडौंमा बस्दै आएका छन्। काठमाडौंमा बसिरहँदा पनि उनको मन भने आफ्नै गाउँतिरै फर्किरहन्छ।

    ‘आफ्नो ठाउँ, आफ्नो गाउँ मलाई काठमाडौंभन्दा धेरै मन पर्छ,’ उनी भन्छन्।

    उनको बाल्यकालको गाउँ आजको भन्दा निकै फरक थियो। खेतीपातीमा व्यस्त गाउँमा मानिसको चहलपहल हुन्थ्यो। मेलापातमा ५०–६० जनासम्म जुट्ने गरेको उनी सम्झन्छन्। विवाह, व्रतबन्ध वा अन्य सामाजिक काममा छिमेकीहरू अन्न र पैसासम्म सहयोग गर्थे। त्यो सम्बन्धमा लेनदेनभन्दा बढी विश्वास थियो।

    आज भने गाउँ सुनसान हुँदै गएको छ। युवाहरू रोजगारीका लागि विदेशिएका छन्। काम गर्न नसक्ने उमेरका मानिस गाउँमै छन् भने उपचार र सुविधा खोज्दै धेरैजसो सहरतिर झरेका छन्। महँगी बढ्दै जाँदा गाउँमै खेती गरेर टिक्न पनि कठिन भएको छ ।

    परिवर्तनको अर्को पाटो प्रविधि हो। कुनै समय ढिकीमा चामल कुटिन्थ्यो, जातोमा कोदो र मकै पिनिन्थ्यो। दिनभरको काम सकेर राति अबेरसम्म घरधन्दा र बिहानैदेखि काममा जुट्नुपर्ने अवस्था थियो। प्रविधिले त्यो श्रम घटाएको छ। बजगाईँका लागि यो परिवर्तन सहजताको संकेत हो।

    तर सहजतासँगै पुरानो सामुदायिकता, संस्कार र विश्वास हराएको उनको बुझाइ छ ।

    दुई कक्षा पढेका बजगाईँका लागि त्यो समयको शिक्षा पनि सम्झनलायक छ। कम पढे पनि सिकाइलाई महत्त्व दिइन्थ्यो। अहिले भने कक्षा चढ्नु नै शिक्षाको मुख्य उद्देश्यजस्तो भएको उनको गुनासो छ।

    जीवनमा ठूलो संघर्ष नगरेको बताउने उनी आफ्नो जीवनको सबैभन्दा ठूलो पाठ भने ‘सन्तोष’लाई मान्छन्। धेरै चाहना नराख्ने, अरूलाई नराम्रो नबोल्ने, अहंकार र लोभबाट टाढा रहने यिनै कुराले जीवन सहज बन्ने उनको विश्वास छ।

    ‘लोभीको भाँडो कहिल्यै भरिँदैन,’ उनी भन्छन्, ‘थोरै भए पनि सन्तुष्ट हुन सक्नुपर्छ।’

    गाउँ बदलियो। काम गर्ने तरिका बदलियो। सम्बन्ध र संस्कार पनि बदलिँदै गए। तर दशकौँको जीवन भोगाइपछि बजगाईँले निकालेको निष्कर्ष भने सरल छ । जीवनलाई ठूलो बनाउन धेरै चाहिँदैन, आफूले पाएकोमा सन्तुष्ट हुन सक्नुपर्छ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij