काठमाडौं । 'जतिसुकै ठूलो महल होस्, सुनकै महलमा सुते पनि अन्तिममा सबै यही माटोमा आउनुपर्छ।'
८१ वर्षीय तीर्थराज भट्टका लागि जीवनको अर्थ शायद यही एउटा वाक्यमा अटाउँछ। गोरखा, बारपाक सुलिकोट गाउँपालिका–५ का भट्टले जीवनको लामो यात्रामा अभाव देखे, संघर्ष गरे, सन्तान हुर्काए र समयसँगै गाउँदेखि समाजसम्म बदलिँदै गएको देखे। अहिले उमेरले शरीरलाई थकाएको छ, तर जीवनलाई हेर्ने उनको दृष्टि अझै स्पष्ट छ।
वि.सं.२०२० सालमा जन्मिएका भट्टको बाल्यकाल सहज थिएन। पढ्ने इच्छा हुँदाहुँदै पनि परिस्थितिले साथ दिएन। अवसर नपाएको त्यो अधुरोपनलाई उनले आफ्ना सन्तानको जीवनमा दोहोरिन दिएनन्। तीन छोरा र तीन छोरी हुर्काउँदा खेतीपाती, परिवार र दैनिक जीवनका अनेक संघर्ष झेल्नुपर्यो। विदेश वा शहरको अवसर खोज्नुभन्दा उनले गाउँमै किसानका रूपमा जीवन बिताए।
'हाम्रो पालामा संघर्ष धेरै गर्नुपर्यो,' उनी सम्झिन्छन्, 'तर परिश्रम गरेर चल्यो।'
उनका लागि त्यो संघर्ष अभावसँगको लडाइँ मात्र थिएन। सन्तानलाई सही बाटोमा हिँडाउनु पनि जीवनको ठूलो जिम्मेवारी थियो। आज छोराछोरी आफ्नो बाटोमा उभिएको देख्दा उनी त्यसैमा सन्तुष्ट छन्।
तर समय बदलिएको छ। प्रविधि गाउँसम्म पुगेको छ। मानिसको जीवन सहज भएको छ। भट्टलाई लाग्छ सुविधा बढे पनि सन्तुष्टि भने बढेको छैन।
उनको दृष्टिमा अहिलेको समाजको सबैभन्दा ठूलो संकट विश्वासको कमी हो। पहिले गाउँमा अैँचोपैँचो र आपसी भरोसा बलियो रहेको सम्झँदै उनी अहिले मानिसहरू विभिन्न संगत र प्रभावबीच हराइरहेको बताउँछन्। बाहिरबाट मानिसलाई चिन्न सकिए पनि उसको भित्रको सत्य देख्न नसकिने उनको बुझाइ छ।
समाजमा बढिरहेका हिंसा, अपराध र पारिवारिक विघटनलाई उनी समय र नैतिक मूल्यमा आएको परिवर्तनसँग जोड्छन्। उनका लागि प्रविधि आफैं समस्या होइन; त्यसको प्रयोगसँगै मानिसले श्रम, संस्कार, आत्मअनुशासन र मानवीयता बिर्सनु ठूलो समस्या हो।
त्यसैले उनी सन्तुष्टिको बाटो भौतिक उपलब्धिभन्दा बाहिर खोज्छन्। अध्यात्म, परोपकार, सत्संग र कर्ममा उनी जीवनको अर्थ देख्छन्।
उमेरको यो मोडमा उनी अब भविष्यका ठूला योजनाभन्दा जीवनको अन्तिम यात्रालाई स्वीकार गर्ने मनस्थितिमा छन्। मृत्यु कहिले र कसरी आउँछ, त्यो आफूलाई थाहा नभएको उनी सहजै स्वीकार्छन्।
उनका लागि जीवन एउटा 'दुर्लभ चोला' हो फेरि पाइन्छ भन्ने कुनै ग्यारेन्टी नभएको अवसर पनि हो।
युवा पुस्तालाई उनको आग्रह पनि यही छ भौतिक शिक्षा र प्रगति आवश्यक छन्, तर प्रकृति, कर्म र आध्यात्मिक चेतनालाई बिर्सनु हुँदैन।
'कर्म श्रेष्ठ छ, कर्म प्रधान छ,' उनी भन्छन्, 'कर्म गरेरै देखाउनुपर्छ।'
जीवनको अन्तिम घडी नजिकिँदै गर्दा पनि तीर्थराज भट्टको सबैभन्दा ठूलो सन्देश कुनै ठूलो उपलब्धि हासिल गर्ने होइन। पाएको जीवनलाई अर्थपूर्ण बनाउने हो।
किनकि उनका शब्दमा, जीवन आफैं एउटा यस्तो ढोका हो, जुन एकपटक खुलेपछि फेरि फर्केर आउने मौका नहुन सक्छ।


