काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन्।
शुक्रबार सिंहदरबारमा उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
छलफलमा प्रधानमन्त्री शाहले उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएको रास्वपा सांसद विदुषी राणाले जानकारी दिइन्।
राणाका अनुसार प्रधानमन्त्री शाहले नेपालमा लगानीको प्राथमिकताका विषयमा समेत धारणा राख्दै पहिलो प्राथमिकता स्वदेशी
लाई दिनुपर्ने त्यसपछि गैरआवासीय नेपाली (एनआरएन) को लगानी र तेस्रो प्राथमिकतामा बाह्य विदेशी लगानी रहने बताएका थिए।
छलफलमा व्यवसायीहरूले नेपाली निजी क्षेत्र ठूला पूर्वाधार आयोजना निर्माण गर्न सक्षम रहेको भन्दै त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न सरकारसँग आग्रह गरेका थिए।
अर्थतन्त्रमा निजी क्षेत्रको करिब ८० प्रतिशत योगदान रहेको उल्लेख गर्दै व्यवसायीहरूले निजी क्षेत्रको मनोबल उच्च राख्न राज्यले लगानीमैत्री र अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
व्यवसायीहरूले कुनै आरोप लाग्नेबित्तिकै पक्राउ गर्ने तथा थुनामा राख्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको गुनासोसमेत गरेका थिए।
छलफलमा निजी क्षेत्रका समस्या कानुन संशोधन तथा लगानीको वातावरणलगायत विषयमा नियमित समीक्षा गर्ने सहमति भएको सांसद राणाले बताइन्। उनका अनुसार प्रधानमन्त्री कार्यालयले निजी क्षेत्रसँग प्रत्येक तीन तीन महिनामा नियमित छलफल गर्ने समझदारीसमेत बनेको छ।
छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी पवन गोल्यान उमेश श्रेष्ठ र चन्द्र ढकाललगायत सहभागी थिए।


