काठमाडौं । ७४ वर्षको उमेरमा टिका कुमारी खनालले जीवनका धेरै अनुहार देखिसकेकी छन्। बाल्यकालमै छुटेको माइती, सानै उमेरमा आएको वैवाहिक जिम्मेवारी, श्रीमानको मृत्यु, सन्तान हुर्काउँदाको संघर्ष, द्वन्द्वको त्रास, भूकम्पका कम्पन र रसुवाको बाढी । समयले उनलाई पटक पटक परीक्षा लिएको छ।
गत भदौ २३ गते काठमाडौंमा जेनजी शहीद स्मृति दिवस मनाइँदै गर्दा उनका लागि विगत फेरि बल्झियो। पूरानो संसद् भवन परिसरमा उपस्थित टिका कुमारीले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू सम्झिइन्। गोली चलेको, मानिसहरू मारिएको र सडकमा युवापुस्ताले भोगेको क्षतिले उनको मनमा पुरानो डर फर्कायो।
उनका लागि मान्छे मर्नु नयाँ कुरा थिएन। जीवनमा उनले अभाव देखेकी थिइन्, परिवारको दुःख भोगेकी थिइन्, द्वन्द्वको त्रास सुनेकी थिइन्। तर आफ्नै आँखाअघि गोली चलेको, मानिसहरू मारिएको र सडकमा युवायुवतीको ज्यान गएको दृश्यले उनलाई फेरि त्यही पुरानो प्रश्नमा पुर्यायो,' आखिर देशमा शान्ति कहिले आउला?'
‘काठमाडौंबाट यस्तो कुरा आएपछि त अब के आउने हो, झन् मान्छे मार्ने देश हो कि जस्तो लाग्यो,’ उनी सम्झिन्छिन्।
देशमा शान्ति र सुशासन आउने आशा उनले धेरैपटक गरेकी छन्। तर हरेकपटक आशापछि अर्को संकट आइपरेको अनुभव उनीसँग छ। द्वन्द्वका बेला आफ्ना छोराछोरी कसरी जोगाउने भन्ने चिन्ता थियो। अहिलेका घटनाले पनि उनको चिन्ता उस्तै छ ।
टिका कुमारी आफैंले सुरक्षित र सहज जीवन भने धेरै पाइनन्।
पाँच वर्षको उमेरमा विवाह भएपछि उनको बाल्यकाल अर्काको घरमा बित्यो। खेल्ने र पढ्ने उमेर घरायसी जिम्मेवारीमा बित्यो। परिवारको काम गर्दै उनी विस्तारै आमाको भूमिकामा पुगिन्। चार सन्तान हुर्काउँदा अभावसँग निरन्तर संघर्ष गरिन्। श्रीमानसँगको साथ पनि करिब २५ वर्षमै टुट्यो। त्यसपछि सन्तानको भविष्य उनको एक्लो जिम्मेवारी बन्यो।
जवानीमा कुटोकोदालो र खेतीपाती गरेर परिवार धानिन्। अहिले शरीरले साथ छाड्दै गएको छ। उमेरसँगै स्वास्थ्यका समस्या थपिएका छन्। सन्तान आ–आफ्नो जीवनमा छन्। तर विगत भने उनको स्मृतिबाट हटेको छैन।
गोसाइँकुण्ड पुगेका बेला रसुवाको बाढीमा फसेर बाँच्नु उनको जीवनको पछिल्लो ठूलो त्रास बन्यो। प्राकृतिक विपत्तिबाट जोगिएर फर्किए पनि देशमा भइरहेका राजनीतिक र सामाजिक घटनाले मनलाई शान्त हुन दिएको छैन।
तर टिका कुमारी निराशाको कथा सुनाएर मात्र रोकिँदैनन्। उनले अहिलेको पुस्तालाई पढ्न, अघि बढ्न र आफ्नो पहिचान बनाउन सुझाउँछिन्। आफूले अवसर नपाएको जीवनबाट उनले नयाँ पुस्ताका लागि अवसरको मूल्य बुझेकी छन्।
जीवनभर दुःखसँग लडेर यहाँसम्म आइपुगेकी टिका कुमारीसँग भविष्यप्रतिको अपेक्षा अझै बाँकी छ। उनको चाहना ठूलो छैन ।उनी देशमा शान्ति होस्, मानिसले सुरक्षित भएर बाँच्न पाऊन् र नयाँ पुस्ताले आमाबाबुले भोगेका दुःख दोहोर्याएर बाँच्न नपरोस् भन्ने चाहन्छिन्।


