काठमाडौं । काठमाडौंमा घर, पसल, कार्यालय र सडकबाट दैनिक निस्कने फोहोरको गन्तव्य काठमाडौंमै टुंगिँदैन। उपत्यकाको फोहोर बोकेका गाडीहरू नुवाकोटको ककनी हुँदै धादिङको धुनिवेसीसम्म पुग्छन्। काठमाडौंलाई सफा राख्ने यो व्यवस्थाको अर्को पाटो भने त्यहाँका बस्तीहरूले वर्षौंदेखि भोगिरहेको दुर्गन्ध, झिँगा र अस्वस्थ वातावरण हो।
ककनी गाउँपालिका तथा धादिङको धुनिवेसी का बासिन्दाका लागि काठमाडौंको फोहोर नयाँ समस्या होइन। दुई दशकभन्दा लामो समयदेखि उनीहरू यही फोहोरको गन्धसँग जीवन बिताइरहेका छन्। फोहोरको थुप्रो बढ्दै जाँदा दुर्गन्ध मात्र बढेको छैन, बस्तीको दैनिक जीवन नै प्रभावित भएको स्थानीयको गुनासो छ।
‘फोहोरका कारण झिँगा धेरै छन्। करेलाजस्ता तरकारी फलाए पनि खान सक्ने अवस्था हुँदैन,’ एक स्थानीय महिला भन्छिन्, ‘राति झ्याल खोल्दा दुर्गन्ध आउँछ, झ्याल बन्द गर्दा गर्मी हुन्छ। बच्चाहरू राति अबेरसम्म सुत्न सक्दैनन्।’
लिचेट बग्ने वा फोहोर व्यवस्थापनका क्रममा दुर्गन्ध फैलिने समयमा समस्या झन् चर्किन्छ। घरआँगन र करेसाबारीमा झिँगाको समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा छ । स्थानीयहरू लामो समयदेखि फोहोरको सम्पर्क र प्रदूषित वातावरणमा बस्नुपर्दा स्वास्थ्यमा असर परेको छ।
यो समस्या आजको मात्र होइन। झन्डै तीन दशक अघिदेखि नै काठमाडौंको फोहोर नुवाकोट पुर्याउने गरिन्थ्यो। त्यतिबेला फोहोरसँगै विकास आउने आशा पनि देखाइएको थियो। सडक, अस्पताल, विद्यालय र बजारजस्ता आधारभूत पूर्वाधारको अभावमा रहेका बस्तीका लागि फोहोर राखिदिएबापत विकास हुने आश्वासन ठूलो कुरा थियो।
२०६२ जेठ २२ गते वातावरण दिवसको अवसर पारेर बाजागाजासहित काठमाडौंको फोहोर ककनीको सिसडोल पुग्यो। सम्झौता दुई वर्षका लागि सिसडोलमा फोहोर राख्ने र त्यसपछि वैकल्पिक व्यवस्थापन गर्ने थियो। बन्चरेडाँडा ल्यान्डफिल साइट बनाउने तथा ककनी र धादिङ क्षेत्रमा विकासका काम गर्ने प्रतिबद्धता पनि गरिएको थियो।
तर दुई वर्षका लागि भनिएको सिसडोलको फोहोर करिब दुई दशकसम्म थुप्रियो। फोहोर बढ्दै गयो, त्यससँगै दुर्गन्ध र स्थानीय असन्तुष्टि पनि बढ्दै गयो।
यसबीच स्थानीयले पटकपटक आन्दोलन गरे। फोहोर बोकेका गाडी रोके, सडकमा उत्रिए, सरकारसँग वार्ता गरे। तर समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेन। कतिपय परिवार दुर्गन्धबाट बच्न बस्ती छोडेर अन्यत्र गए। आर्थिक अवस्था कमजोर भएकाहरू भने नाक थुन्दै त्यहीँ बस्न बाध्य छन्।
अहिले स्थानीयहरूलाई ठूला विकासका सपना चाहिएका छैनन्। काठमाडौंको फोहोरबाट मुक्त भएर सामान्य वातावरणमा बाँच्न पाउनु नै उनीहरूको लागि ठूलो सपना हो।
काठमाडौंलाई सफा राख्ने क्रममा फोहोरको भार बोकिरहेका यी बस्तीका लागि भने सफा वातावरण अझै टाढाको सपना बनेको छ। वर्षौंको आश्वासन, आन्दोलन र राजनीतिक प्रतिनिधित्वपछि पनि उनीहरूको प्रश्न उही छ, 'काठमाडौंको फोहोर कहिलेसम्म हाम्रो घरआँगनमा थुप्रिरहने?'


