काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्।
सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो।
गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट दाहालमाथि कारबाही गर्न सिफारिस आएपछि असोज १९ गतेको निर्णयअनुसार उनलाई निलम्बन गरिएको हो। घटनाबारे छानबिन गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको छ। मन्त्रालयले तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ।
दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेकै राति अनुमति नलिई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेको आरोपसमेत लागेको छ। स्रोतका अनुसार जबरालाई सुरक्षाको कारण देखाउँदै राति घरबाट नियन्त्रणमा लिएर टेकु पुर्याइएको केही समयमै दाहाल त्यहाँ पुगेका थिए। उनी जबराका नातेदारसमेत रहेको बताइएको छ।
यस घटनामा दाहालले सम्बन्धित निकायलाई जानकारी नदिई चेन अफ कमान्डसमेत मिचेको हुनसक्ने विषयमा अनुसन्धान अघि बढाइएको स्रोतको भनाइ छ। यद्यपि, गृह मन्त्रालयले दाहालले वास्तवमा कुन संवेदनशील सूचना चुहावट गरेको भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।
गृह मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील तथा गोप्य सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ। कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ।
यसैबीच, दाहालको चारवर्षे पदावधि यही असोज २७ गते पूरा हुँदै थियो। उनको पदावधि थपका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले केही दिनअघि गृह मन्त्रालयमा सिफारिस गरेको थियो। तर निलम्बनपछि उनको पदावधि थप हुने वा नहुने विषयसमेत थप छानबिन र मन्त्रालयको निर्णयमा निर्भर हुने देखिएको छ।


