कठमाडौं। नेपालबाट विदेशिने युवाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। युवा रहरले होइन, बाध्यताले विदेशि रहेका छन् । अहिले गाउँघरमा वृद्ध आमाबुवा मात्र देखिनु सामान्य जस्तै भइसकेको छ भने युवाहरू राम्रो भविष्यको खोजीमा विदेशतिर लागिरहेका छन्।
गाउँदेखि राजधानीसम्म आएर सपना पूरा गर्ने प्रयास गरेका धेरै युवाले पनि यहाँ अवसर नपाएपछि अन्ततः विदेश जानुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। यसले देशको ठूलो क्षति भएको देखिन्छ । नेपालको इतिहास पल्टाएर हेर्ने हो भने विकास र अधिकारका लागि धेरै निर्दोष नागरिकहरूले बलिदान दिएका छन्।
हालसालै भएको जेनजी आन्दोलनले पनि फेरि एकपटक देशलाई नयाँ मोडतर्फ मोडेको धेरैको भनाई छ । यस आन्दोलनका क्रममा काेही शहीद भए त केही घाइते । मतदाताहरू भन्छन्, ‘हामीलाई साँचो परिवर्तन चाहिएको हो, परिवर्तनका लागि हरेक पटक शहीद हुनुपर्ने अवस्था किन आउँछ?’ उनीहरूका अनुसार अब बन्ने सरकारले देशमा रोजगारी र अवसर सिर्जना गर्नुपर्छ ।
मतदाताहरूका अनुसार युवालाई विदेशिनबाट रोक्न सरकारले उद्योग तथा कलकारखाना पुनः सञ्चालन गर्नुपर्छ।‘देशमै उद्योग खुले युवाले किन विदेश जानुपर्थ्यो?’ मतदाताहरू भन्छन् । ‘नेपाल कृषिप्रधान देश हो तर याहा आफ्नो लागि अन्न उत्पादन गर्न पनि कठिन हुन्छ । सरकारले कृषिमा लगानी र प्रविधि बढाउनुपर्छ विकास कार्यक्रमलाई पनि विस्तार गर्नुपर्छ भन्छन् मतादाता ।
‘यदि युवालाई प्राविधिक तालिम र सीप सिकाइयो भने धेरै युवाले स्वदेशमै काम गर्ने अवसर पाउछन् ।’ नेपाल जलस्रोतको दृष्टिले पनि धनी देश मानिन्छ। मतदाताहरू विश्वास व्यक्त गर्दै भन्छन्, ‘यदि जलविद्युत् र प्राकृतिक स्रोतको सही सदुपयोग गरियो भने नेपाललाई समृद्ध बनाउन धेरै समय लाग्दैन।’
विदेशबाट फर्किएका युवालाई व्यवसाय सुरु गर्न सहुलियत ऋण र सहयोग दिनुपर्ने सुझाव पनि मतदाताहरूले दिएका छन्। नयाँ सरकार बन्ने तयारी भइरहदा मतदाताको एउटै अपेक्षा सुनिन्छ—देशमा रोजगारी सिर्जना होस्, उद्योग खुलून् र युवाले आफ्नो भविष्य स्वदेशमै देख्न सकून्। अब प्रश्न यही छ, ‘के अबको सरकारले मतदाताको आशा र विश्वासलाई पूरा गर्न सक्ला?’


