काठमाडौं । सृष्टि (परिवर्तित नाम) आज आफ्नी छोरीलाई काखमा च्यापेर मुस्कुराउने प्रयास गर्छिन्। तर त्यो मुस्कानभित्र वर्षौँको पीडा लुकेको छ। एक समय थियो, जब उनी पनि अरू युवतीझैँ भविष्यका सपना बुन्दै थिइन्। कसैलाई विश्वास गरेकी थिइन्, सँगै जीवन बिताउने कल्पना गरेकी थिइन्। तर त्यो विश्वास एक फोन कलमै चकनाचुर भयो।
‘पिल्स खाऊ...’
प्रेमीको मुखबाट निस्किएको यही एउटा वाक्यले उनको संसार बदलिदियो। त्यतिबेलासम्म गर्भले तीन महिना पार गरिसकेको थियो। गर्भपतन सहज थिएन। साथ दिने मान्छे पनि थिएन। पैसा थिएन। परिवारलाई भन्ने आँट थिएन। त्यसपछि सुरु भयो उनको आफ्नै कोठाभित्रको मौन युद्ध।
तर सृष्टिको पीडा त्यही दिनबाट सुरु भएको भने होइन।
सानैमा आमाबुबाबाट टाढा हुनुपरेको, वर्षौँ होस्टेलमा बिताएको र आफ्ना भावना कसैसँग खुलाएर भन्न नसकेको बानीले उनलाई भित्रभित्रै कमजोर बनाइसकेको थियो। उनी आफैँ भन्छिन्, परिवारसँग टाढा भएपछि बाहिर माया खोज्न थालिन्छ। सायद त्यही भावनात्मक खालीपनले उनलाई मीठा शब्दमा सजिलै विश्वास गर्न बाध्य बनायो।
झुटो आश्वासनमा बनेको सम्बन्ध अन्ततः जिम्मेवारीबाट भाग्यो। गर्भको भार भने उनी एक्लैले बोक्नुपर्यो। परिवारको इज्जत जोगाउने चिन्ता, समाजले गर्ने प्रश्न र भविष्यको अन्योलले उनी कतिपटक बाँच्ने इच्छासमेत गुमाउने अवस्थामा पुगिन्।
अन्ततः एउटा आश्रयस्थल 'भ्वाइस अफ फेटस' ले उनको जीवनलाई अर्को मोड दियो। उनले बच्चा जन्माइन्। आज उनी एउटी आमा हुन्। तर उनी अझै एउटा प्रश्नको उत्तर खोजिरहेकी छन्,’आफ्नो दिदीबहिनीको सम्मान गर्ने मानिसले अर्काकी छोरीसँग यस्तो किन गर्यो?’
सृष्टिको कथा केवल एउटी युवतीको कथा होइन। यो सम्बन्धमा जिम्मेवारीबाट भाग्ने प्रवृत्ति, परिवारभित्र संवादको अभाव, यौन तथा प्रजनन स्वास्थ्यबारे पर्याप्त जानकारी नहुनु र समाजले महिलामाथि मात्रै दोष थोपर्ने मानसिकताको प्रतिबिम्ब पनि हो।
किनकि प्रेम दुई जनाको निर्णय हुन सक्छ, तर त्यसको परिणाम भने अझै पनि धेरैजसो अवस्थामा एउटी महिलाले मात्रै बोकिरहेकी हुन्छिन्।


