काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने व्यवस्थासम्बन्धी विद्यमान कानुनी प्रावधानबारे पुनः जानकारी गराउँदै सूचना प्रकाशित गरेको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ का व्यवस्थाअनुसार यसअघि प्रकाशित सूचनालाई पुनः प्रकाशन गरिएको जनाएको छ।
सूचनाअनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्म (भारतीय रुपैयाँका हकमा सो बराबरको रकम) नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्नेछन्। सोभन्दा बढी रकम ल्याउँदा भने भन्सार घोषणा गरी प्रमाणीकरण गराउनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यसैगरि नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि प्रचलनमा रहेका भारतीय ५०० र १,००० दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था यथावत् रहेको सूचनामा उल्लेख छ। सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २०० र ५०० दरका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५,००० सम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान तथा साट्न सक्नेछन्।
राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाइने व्यवस्था रहेको विषयमा पनि पुनः जानकारी गराएको छ। साथै, यस विषयमा २०८२/०५/१० मा प्रकाशित सूचना खारेज गरिएको जनाएको छ।


