नुवाकोट । त्रिशूली नदीको किनारमा रहेको विदुर नगरपालिका–ढुङ्गे र त्रिशूली बजार अहिले आफ्नो परिचित स्वरूपमा छैन। केही समयअघिसम्म मानिसको आवतजावत र व्यापारिक चहलपहलले भरिने बजार अहिले हिलो, बालुवा र गेग्रानको थुप्रोमा बदलिएको छ।

बुधबार त्रिशूली नदीमा आएको भीषण बाढी ओर्लिसकेको छ। बाढीले छाडेको दृश्यमा घर र संरचनाभन्दा ठूलो कथा त्यससँग जोडिएको दैनिकीको छ। कुनै समय बसोबास, व्यापार र आवतजावतले भरिने ठाउँहरू अहिले लेदो र माटोले ढाकिएका छन्। भुइँदेखि भित्तासम्म जमेको हिलोले बाढी पानीको बहावसँगै घरभित्र कति गहिरोसम्म पुगेको थियो भन्ने देखाउँछ।

कतै सवारीसाधन नै माटोमा आधा पुरिएका छन्। कतै ढुंगा, बालुवा र गेग्रानको थुप्रोले बाटो र वरपरको क्षेत्र ढाकेको छ। सामान्य अवस्थामा सहजै चल्ने बजारको दैनिकीलाई यिनै थुप्रोले रोकिदिएको छ। बाढीले केवल भौतिक संरचना बिगारेको होइन, त्यससँग जोडिएको काम, आम्दानी र दैनिक जीवनलाई समेत केही समयका लागि थामिदिएको छ।

विपत्तिपछि बाँकी रहेको अर्को चुनौती पुनःस्थापनाको हो। हिलो हटाएर घर र व्यवसायलाई फेरि प्रयोगयोग्य बनाउनु, आवश्यक सामान जोगाउनु र पशुचौपायाको व्यवस्थापन गर्नु अहिलेको प्राथमिकता बनेको छ। आफ्नो थातथलो र जीविकाको आधार जोगाउनुपर्ने जिम्मेवारी बाढीपछि झन् कठिन बनेको छ।

तर बाढीले थुपारेको माटोबीच जीवनका साना संकेतहरू हराएका छैनन्। अस्थायी ओतमुनि राखिएका पशुचौपाया, जोगाइएका सामान र बिस्तारै सफा हुँदै गरेका ठाउँहरूले विपत्तिपछि पनि दैनिकी फर्काउने प्रयास सुरु भइसकेको देखाउँछन्।

ढुङ्गे र त्रिशूली बजार अहिले पहिलेजस्तो छैन। नदीले बगाएर लगेका र हिलोमा पुरिएका कुराहरू तत्काल फर्कने छैनन्। तर जमेको लेदो पन्छाउँदै जाँदा बजार पनि विस्तारै आफ्नो लय खोज्नेछ। बाढीले यहाँ धेरै कुरा अस्तव्यस्त बनाएको छ, तर जीवनलाई फेरि त्यहीँबाट अघि बढाउनुपर्ने आवश्यकता भने छाडेर गएको छ।


