काठमाडौं। नवगठित सरकारले जेनजी प्रतिवेदनको कार्यान्वयन थालेको छ। शुक्रमवार बसेको बैठकका आधारमा पक्राउ पूर्जी लिएर एका विहानै प्रहरी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको घर पुगेर पक्राऊ गरेका हुन्।
नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै प्रहरीले पक्राउ गरेको हो।
यसअघि ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि अध्यक्ष ओलीले दुई वरिष्ठ अधिवक्तालाई निवासमा बोलाएका थिए।
एमालेका नेता कार्यकर्ताले प्रहरीलाई निवासभित्र प्रवेश गर्न अवरोध गरेका थिए। केहीबेर धकेलाधकेलसमेत भएको थियो।
धकेलाधकेलका क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
यस्तै, पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परेका छन्।
जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सिफारिस गरेको थियो।
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीले उनलाई शनिबार बिहानै पक्राउ गरेको हो। लेखक नेपाली कांग्रेसका नेतासमेत हुन्।
पक्राउ परेका दुबैलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। लगत्तै गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुखसँग छलफल गरेका थिए।


