काठमाडौं। नवगठित सरकारले पदभार सम्हालेसँगै विभिन्न कदमहरू अघि बढाइरहेको छ। विशेषगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान, प्रशासनिक पहुँचका आधारमा आर्जन गरिएको अवैध धनमाथिको निगरानी तथा छानबिनलाई तीव्रता दिइएको छ। सरकारले यसलाई भ्रष्टाचार नियन्त्रण र सुशासनतर्फको महत्वपूर्ण प्रयासका रूपमा प्रस्तुत गरेको छ।
तर, यी अनुसन्धान र कारबाहीका प्रक्रियाहरू सुरु भए पनि यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा कत्तिको परेको छ भन्ने विषयमा मिश्रित धारणा देखिएको छ। समाजमा शान्तिसुरक्षाको अवस्था कस्तो छ? के अपराधका घटनाहरू घटेका छन्? र, के नागरिकले आफूलाई पहिलेभन्दा सुरक्षित महसुस गर्न थालेका छन्? यिनै प्रश्नहरूको जवाफ खोज्न हामीले भक्सपपमार्फत जनताको धारणा संकलन गरेका छौ।
भक्सपपमा सहभागी केही नागरिकहरूले सरकारका कदमहरूलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूको भनाइमा, 'सरकारले कम्तीमा अनुसन्धान सुरु गरेको छ, जुन राम्रो संकेत हो। विगतमा यस्ता विषयमा चासो कम देखिन्थ्यो, अहिले भने केही आशा जागेको छ।' उनीहरूका अनुसार गलत तरिकाले आर्जन गरिएको सम्पत्तिमाथि निगरानी हुनु आफैंमा आवश्यक कदम हो।
तर अर्कोतर्फ, धेरै नागरिकहरू अझै पनि सन्तुष्ट देखिँदैनन्। उनीहरूको भनाइ छ, 'अनुसन्धान सुरु भए पनि त्यसको परिणाम देखिएको छैन। हामीले अझै पनि आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनौं।' उनीहरूले अनुसन्धान मात्र पर्याप्त नभएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको जोड दिएका छन्।
केहीले अझ स्पष्ट रूपमा भने, 'अनुसन्धान मात्रै गरेर हुँदैन, मुलुकमा भ्रष्टाचार नियन्त्रण हुनुपर्छ, कानुनको कडाइका साथ कार्यान्वयन हुनुपर्छ, र संविधानलाई व्यवहारमा लागू गर्नुपर्छ।' उनीहरूको धारणा अनुसार जबसम्म कानुन सबैका लागि समान रूपमा लागू हुँदैन, तबसम्म यस्ता कदमहरूले अपेक्षित परिणाम दिन सक्दैनन्।
त्यसैगरी, केही नागरिकहरूले सरकारप्रति मिश्रित अपेक्षा व्यक्त गरेका छन्। 'सरकारले जस्तोसुकै तरिकाले भए पनि सुधार ल्याओस्, तर जनताले प्रत्यक्ष अनुभव गर्ने गरी परिवर्तन हुनुपर्छ,' भन्ने उनीहरूको भनाइ छ। उनीहरूले नतिजामुखी कामको आवश्यकता औंल्याएका छन्।
अर्का एक सहभागीले भने, 'हामीलाई भाषणभन्दा काम चाहिएको छ। अनुसन्धानका खबरहरू सुन्न पाइरहेका छौं, तर त्यसको असर हाम्रो दैनिक जीवनमा देखिनुपर्छ।' यसले जनतामा अझै पनि भरोसा पूर्ण रूपमा स्थापित हुन नसकेको संकेत गर्छ।
यद्यपि, आलोचना र असन्तुष्टिका बीचमा पनि आशा मरेको भने छैन। धेरै नागरिकहरू अझै पनि नयाँ सरकारबाट सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेका छन्। उनीहरू भन्छन्, 'हामी आशावादी छौ। यदि सरकारले इमान्दारीका साथ काम गर्यो भने अब मुलुक अवश्य बदलिन सक्छ।'
समग्रमा हेर्दा, जनताको धारणा दुई भागमा विभाजित देखिन्छ—एक पक्षले सुरु भएका कदमलाई स्वागत गरिरहेको छ भने अर्को पक्षले त्यसको प्रभावकारितामाथि प्रश्न उठाइरहेको छ। दुवै धारणा बीचको साझा अपेक्षा भने एउटै छ—कानुनको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र जनताको जीवनमा प्रत्यक्ष सुधार।
उनीहरूका अनुसार, कानुनको शासन नै समृद्धिको आधार हो, र त्यो व्यवहारमा देखिन सके मात्र सरकारले जनविश्वास जित्न सक्छ।
बाँकी जनधारणा र विस्तृत कुराकानी भिडियोमा हेर्नुहाेस।


