काठमाडौं । भारतको ओडिसामा एक नेपाली छात्राको शङ्कास्पद मृत्यु भएपछि संसारभरबाट विरोध भइरहेको छ । सोमबार ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बीटेक तेस्रो वर्ष पढ्दै गरेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उक्त घटनाको विरोध गर्ने अन्य विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको रिपोर्टहरू सार्वजनिक भएका छन्। यो विषयको संसारभर आलोचना भइरहेको छ ।
ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रिअल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्साल आइतबार साँझतिर झुन्डिएको अवस्थामा फेला परेपछि क्याम्पसमा तनाव सिर्जना भएको थियो ।
केआईआईटीमा अध्ययनरत प्रकृति क्याम्पसकै होछात्रावासमा रहेका बेला ढोका नखुलेपछि होस्टेलका वार्डनले भेन्टिलेसनबाट देखेपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्दा मृत्यु घोषणा भइसकेपछि नेपाली विद्यार्थीहरूले सत्यतथ्य छानबिन गर्न माग गर्दै साँझबाट प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा क्याम्पस प्रशासनले नेपालको स्वाभिमानमै आँच पुग्ने शब्द समेत बोलेर नेपाली विद्यार्थीमाथि अपमानजनक व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको छ । उक्त घटनाको विषयमा संसारभरबाट आलोचना भइरहेको छ । नेपालमा पनि युवा तथा विद्यार्थीहरूले चर्को विरोध गरिरहेका छन् । यसै विषयमा हामीले रत्नराज्य क्याम्पसमा अध्ययनरत केही विद्यार्थीहरूसँग कुराकानी गरेका छौँ ।


