Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

फोहरभित्र राजनीति

'अझैं बेला छ, चेतना जागोस्'

'अझैं बेला छ, चेतना जागोस्'

आइतबार, जेठ २५ २०८२
आइतबार, जेठ २५ २०८२
  •  
    नेपालका शहरी क्षेत्रमा फोहर व्यवस्थापनको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ। अहिले सबैभन्दा बढी राजधानी काठमाडौं उपत्यकामा समस्या देखिन्छ ।  उपत्यकाका तीन जिल्लाबाट दिनहुँ उत्पादन हुने १५ सय मेट्रिक टनभन्दा बढी फोहर अस्तव्यस्त ढंगले डम्प गर्ने गरिएको छ । व्यवस्थापनको ठोस नीति र दीर्घकालीन सोचको अभावले गर्दा फोहर व्यवस्थापन अस्तव्यस्त, लथालिंग र अलपत्र बनेको हो ।

    images

    सरकारले नुवाकोटको सिसडोलमा लामो समय उपत्यकाको फोहर फालेको थियो । त्यसपछि दीर्घकालीन समाधानका लागि भन्दै नुवाकोट र धादिङका बञ्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा ल्याए पनि त्यो स्वच्छ र वैज्ञानिक ढंगले सञ्चालन हुन सकेको छैन । करोडौं रुपैयाँको लगानीमा बनाइएको ल्याण्डफिल साइट अस्तव्यस्त मात्रै बनेको छैन, मानवबस्तीमा समेत गम्भीर असर पारिरहेको छ ।  यस्तो अवस्था लापरवाही मात्रै होइन, नीतिगत बेइमानीको संकेत हो।

    फोहर व्यवस्थापनको विषय अहिले कसको भन्ने नै थाहा छैन । शहरी विकास मन्त्रालय वा स्थानीय तह वा अन्य कुनै को, कसैले जवाफ दिन सक्दैन ।  अहिले काठमाडौं महानगरपालिका माथि मात्रै सबै खनिन्छन् । तर, यति धेरै नगरपालिकाको जिम्मामा एउटा नगरपालिका लिने कुरा कुनै पनि कोणबाट व्यवहारिक छैन । अनि निजी क्षेत्रले फोहर व्यवस्थापनमा गरेका कामहरु पनि प्रभावकारी व्यवस्थापन भएका छैनन् ।

    फोहरलाई मोहरमा परिणत गर्ने कुरा पछिल्लो दशकमा निकै चर्चामा छ । तर, फोहरलार्ई गन्धमा परिणत गर्नबाहेक केही हुन सकेको छैन । व्यवस्थापनमा समन्वयको अभाव, कानुनी अस्पष्टता र जिम्मेवारी तोक्न नसक्ने प्रवृत्तिले ठूलो क्षति पु¥याएको छ।

    फोहरले निम्त्याएको सबैभन्दा ठूलो समस्या, नजिकैको ठूलो मानवबस्तीमा अस्तव्यस्त ढंगले फाल्नु हो ।  नुवाकोट र ककनीको सीमामा पर्ने बञ्चरेडाँडाँमा रहेको स्यानिटरी ल्याण्डफिल साइटलाई जसरी भनिएको थियो, त्यस्तो केही भएको छैन ।  त्यहाँ काठमाडौंबाट फोहर लगेर जथाभावी फालिन्छ । सबै फोहर एकै ठाउँमा फाल्दा गिद्ध, चील गन्ध अनि रोगको सिकार बञ्चरेडाँडा वरिपरीका बस्तीहरु भएका छन् । यी सबै समस्याकाबीच उपत्यकाको फोहरले व्यवस्थापन नपाएको मात्रै होइन, मानवअधिकारको गम्भीर हनन् समेत भएको छ ।  

    यस्तो अवस्थामा संघीय सरकार गम्भीर हुन जरुरी छ । फोहर व्यवस्थापनका लागि स्थानीय निकायलाई प्रविधि, स्रोतसाधन र अधिकारसहित सक्षम बनाउन जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रत्येक घरलाई फोहर छुट्याएर व्यवस्थापनका लागि प्रेरित गर्न जरुरी छ ।

    फोहर व्यवस्थापन समस्याको समाधान असम्भव होइन तर त्यो समाधान राजनीतिक इच्छाशक्ति, नीति स्पष्टता र साझेदारीको भावना बिना सम्भव छैन। हरेक तहले आफ्नो जिम्मेवारी स्वीकार गर्ने, जनतालाई सचेत र संलग्न बनाउने, निजी क्षेत्रसँग सहकार्य गर्ने र प्रविधिमैत्री उपाय अपनाउने हो भने, राजधानी र देशका अन्य शहरी क्षेत्रहरूलाई सफा, स्वस्थ र सभ्य बनाउने सपना पुरा गर्न सकिन्छ।

    अब पनि यदि सरकार र सरोकारवालाहरू उदासिन रहने हो भने, फोहरको समस्याले स्वास्थ्य, पर्यावरण र सामाजिक संरचनालाई झन् भयावह मोडमा लैजानेछ। समय छ, चेतना जागोस्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij