Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

सबथोक हुँदाहुँदै पनि एक्लो महसुस..

सबथोक हुँदाहुँदै पनि एक्लो महसुस..

शुक्रबार, कात्तिक २८ २०८२
शुक्रबार, कात्तिक २८ २०८२
  • काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकाको वडा नं ६ बस्ने ७९ वर्षका नन्दीकेशर न्यौपानेलाई हामीले आफ्ना दुई छिमेकी साथीहरुसंग गफिँदै गरेका बेला भेट्यौं । धुलिखेल नगरपालिकाबाट हजार सिँढी जाने बाटोमा रहेको धुलिखेल मनोरञ्जन पार्क अगाडिको ठुलो चौतारामा रहेको फलामको कुर्सीमा नन्दीकेशर हातमा लठ्ठी लिएर बसिरहेका थिए । जुन लठ्ठी उनको बुढेसकालको साहरा बनेको छ । 

    images

    हामीले कुराकानी सुरु गर्ने वित्तिकै उनले भने,‘म त एक्लो मान्छे, हामीलाई अब थाङ्ग्ना बुढा भनेर हाम्रा कुरा सुन्न छोडे । अब हाम्रो आवश्यकता कसैलाई छैन् ।’ यसो भन्ने वित्तिकै परिवार नै नभएको हो कि भन्ने उत्सुकताले नन्दीकेशरलाई उनको परिवारबारे सोध्दा तीन भाइ छोरा, श्रीमती, बुहारीहरु र नातीनातिना पनि रहेछन् । तर उनका भौतिक आवश्कता सबै परिपूर्ति भएपनि भावनात्मक रुपमा एक्लो महसुस गर्दा रहेछन् । घरका काइँला छोरा उनी त्यत्तिबेला देखि नै उपेक्षित महसुस गर्थे । 

    नन्दीकेशरको ठूलो परिवार थियो उनीहरू ६ भाइ र ३ बहिनी गरी ९ जना सन्तान थिए । उनका बुवा त्यतिबेलाको ‘तालुकदार’ थिए, जसले गाउँबाट तिरो उठाउने गर्थे । परिवारमा धान्नै मुस्किल हुने गरी धेरै सदस्य भएकाले उनीहरूले चाहेर पनि पढ्न पाएनन् । उनी भन्छन् ‘पढ्न त के पढ्नु, स्कुल अब कहाँबाट कहाँ थियो ।’ उनले जम्माजम्मी बाह्रखरी सिके र केही वर्ष मात्रै स्कुलको मुख देख्न पाए । 
    युवावस्थामै उनले आफ्नो बुवालाई गुमाउनुप¥यो ।  वि.सं. २०२८ सालको ठूलो बाढीले उनीहरूको मुख्य सम्पत्ति, खोलाछेउको २ सय मुरी धान फल्ने खेतीपातीलाई पूर्ण रूपमा ध्वस्त पारिदियो । खेत बगेर निमिट्यान्न भएपछि, उनको परिवार विस्थापित भयो र उनको परिवारले मूल घर छोडेर डाँडामा बसाइँ सर्नुप¥यो । खेती मासिँदाको पीडा उनलाई ‘आमा मरेको बच्चा’ जस्तो लाग्यो ।  

    वि.सं. २०३० सालमा विवाह हुँदा उनको उमेर २६ वर्षको थियो ।  आफ्ना दाजुभाइ भारततिर काम गर्न लागेपछि उनी भने घरको जिम्मेवारीले नेपालमै बस्नुप¥यो । उनले पनि केही समय कामको खोजीमा भारतसम्म घुमे तर त्यहाँ बसेनन् । नेपाल फर्केपछि, उनले परिवारको आर्थिक आवश्यकता पूर्तिका लागि हेटौँडामा जागिर पनि खाए । उनले आर.ओ. अफिस र काठमाडौँ–रक्सौल रुटमा बाटोको महसुल (रोड ट्याक्स) उठाउने सरकारी काम पनि गरे । तर, घरको आवश्यकताले उनी फेरि घर फर्किए र उनको बाँकी जीवन खेतीपातीमै बित्यो ।
    सबै हुँदाहुँदै एक्लो महसुस गरिरहेका नन्दकिशोरको दैनिकी यसरी नै चलिरहेको छ । बिहान खाना खाएर ११ बजेतिर घरबाट निस्किन्छन् र चौतारामा साथीभाइ भेटेर गफगाफ गर्छन् । घरमा काम नभएपछि, किताब हेर्दा पनि चित्त बुझ्दैन । उनले मोबाइल चलाउन पनि जानेका छन् । खासगरी फोन गर्न र कहिलेकाहीँ नातिलाई बोलाएर तासको गेम राख्न लगाउँछन् । 

    वृद्धावस्थामा उनलाई विभिन्न रोगले सताएको छ । घुँडा दुख्ने र उकालो हिँड्दा दमको जस्तो समस्याले गर्दा उनी हिँड्न सक्दैनन् । उनकी श्रीमती पनि ७०–७५ वर्षकी भइसकिन् । त्यसैले पनि होला उनीहरूबिच कामको कुराबाहेक खासै केही गफगाफ हुँदैन । विगतमा उनीसंग पैसा थिएन, तर मानिसहरूले मागेर खाए पनि दिन्थे, सहयोग गर्थे । यतिखेर सुविधा र सम्पन्नता छ, तर पैसा भए मात्रै पाइन्छ । उनलाई यातायातको सुविधा र सम्पन्नताले अहिलेको समय मन पर्छ, तर प्रकृतिले उमेर गएपछि सबै कुरालाई त्याग्दो रहेछ भन्ने तीतो सत्य उनले महसुस गरेका छन् ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij