काठमाडौँ । हामी चट्याङ मास्टरको घरमा पुग्दा उनी पारिलो घाममा बसेर आराम गरिरहेका थिए । नेपाली हास्यव्यङ्ग्य साहित्यमा चर्चित नाम हो ‘चट्याङ मास्टर’ ।
उनको जीवन एक बहुआयामिक र प्रेरणादायी यात्रा हो । कृषि सम्बन्धी अध्ययन गरेका उनले कृषि विज्ञको रूपमा करियर सुरु गरे । उनले सञ्चार माध्यममा पनि व्यङ्ग्यमार्फत ठूलो ख्याति कमाए र अहिले जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकहरूको हकहितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।
चट्याङ मास्टरको लेखन यात्राको सुरुवात भने ‘बज्रपाणी’ नामबाट भएको थियो । तत्कालीन पञ्चायत व्यवस्थामा राजनीतिक र असामाजिक विषयमा व्यङ्ग्यात्मक लेख लेख्दा उनी पक्राउ पनि परे । उनलाई बज्रपाणि नामबाट लेख्न प्रतिबन्ध लगाइयो । तर उनको लागि लेख्नु भनेको सास फेर्नु जतिकै महत्वपूर्ण थियो । यद्यपि सुरक्षाको चुनौती आएपछि, उनले आफ्नो लेखनशैली र नाम दुवै परिवर्तन गर्ने निर्णय निर्णय गरे ।
तसर्थ प्रशासनको निगरानीबाट बच्नका लागि उनले ’बज्रपाणी’ को संस्कृत अनुवादको रूपमा ’चट्याङ मास्टर’ नाम अपनाए । ‘बज्रपाणी’ को नाममा गद्य मा लेख्ने उनले ‘चट्याङ मास्टर’ बनेपछि पद्य मा व्यङ्ग्य लेख्न थाले जसले उनको पहिचानलाई अझ बलियो बनायो । उनी ‘सिस्नुपानी नेपाल’ संस्थाका संस्थापक अध्यक्ष पनि हुन् ।
शिक्षा र पेशाले कृषि अर्थशास्त्रका विज्ञ भए पनि, उनले ग्रामीण विकास र तालिमको क्षेत्रमा काम गर्दै नेपाली सञ्चार माध्यममा पनि उल्लेखनीय भूमिका खेले ।
नेपालमा सामुदायिक रेडियो भर्खरै सुरु हुँदा उनी रेडियो सगरमाथा र पछि कान्तिपुर टेलिभिजन जस्ता स्थापित सञ्चार माध्यममा लोकप्रिय व्यङ्ग्यात्मक कार्यक्रम प्रस्तुत गरे ।
करिब दस वर्षसम्म सक्रिय सञ्चारकर्मीका रूपमा काम गरेपछि उनले नेपालको जनसांख्यिक परिवर्तन र पाको उमेरका मानिसहरूको बढ्दो संख्यालाई सम्बोधन गर्न नयाँ अभियानमा लाग्ने निर्णय गरे ।
आफ्नै बुबालाई विर्सने रोगले सताएपछि जेष्ठ नागरिकको सेवा मा लाग्न प्रेरित भएका चट्याङ मास्टरले २०६८ सालमा ’एजिङ नेपाल’ नामक संस्था स्थापना गरे जसले नेपालमा जेष्ठ नागरिकको हकहित, शिक्षा र सामाजिक सुरक्षाका लागि काम गर्दछ ।
उनले यस क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घीय युनेस्को २०२० लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका छन् । उनी ‘बृद्ध व्यक्तिहरूका अधिकारका लागि गठबन्धन’ को निर्वाचित सदस्यका रूपमा पनि कार्यरत छन् ।
उनले बुढ्यौली साहित्यको अवधारणालाई औपचारिक रूपमा घोषणा गरे र यसलाई प्रवद्र्धन गर्ने मूल अभियन्ता का रूपमा काम गरे । यसले नेपाली साहित्यमा पाका मानिसहरूका मनोभाव, पीडा र जीवनशैलीलाई मुख्य विषयवस्तु बनाउने रचनाहरूलाई समेट्छ ।
उनी भन्छन्, ‘जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको आफ्नो समाजको लागि उपयोगी हुन सक्नु हो ।’
अहिलेको जेन जीको पुस्तालाई उनी भन्छन्, ‘युवा शक्तिले माग राख्ने होइन, आफैँ गर्ने हो।’ राष्ट्रको कर्णधारको रूपमा अगाडि आउन र परिवर्तनको नेतृत्व लिन उनी जेन जी पुस्तालाई आग्रह गर्छन् । पछिल्लो समय बुढ्यौली साहित्यमा सक्रिय रहेका उनको कविता ‘उता कृष्ण, कृष्ण, यता राधे, राधे’ ले बुढ्यौलीको एक्लोपन र आत्मीय साथको महत्वलाई मार्मिक रूपमा चित्रण गरेको छ ।
चट्याङ मास्टरको यो यात्राले उनी एक सफल व्यङ्ग्यकार, सञ्चारकर्मी मात्र नभएर एक सच्चा समाजसेवी र जेष्ठ नागरिकहरूको अधिकारका अन्तर्राष्ट्रिय अभियन्ता को रूपमा स्थापित गर्छ ।


