Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बाजा बजाएर गाई भित्र्याएका पूर्व सैनिक

बाजा बजाएर गाई भित्र्याएका पूर्व सैनिक

बिहीबार , मंसिर ४ २०८२
बिहीबार , मंसिर ४ २०८२
  • काठमाडौँ । नेपाली सेनामा डेढ दशकसम्म देशको सेवा गरेपछि  देव कुमार सुवेदीले  गाईगोठ समाले। चन्द्रगिरी, बसन्डोलको ७ रोपनी जग्गामा फैलिएको उनको ‘एन डिडिडि कृषि तथा पशुपक्षी फार्म’ केवल एक व्यवसाय होइन, यो आधुनिक कृषि र देशमै उद्यम गर्ने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हो।

    images

    ३७ वर्षीय देव कुमार सुवेदीको जीवनमा ‘अवकाश’ एक विश्राम थिएन, बरु एउटा नयाँ र ठूलो मिसनको थालनी थियो। नेपाली सेनामा १५ वर्षभन्दा बढी बिताएर अवकाश लिएको दिनदेखि नै उनी अर्को मोर्चामा होमिए, त्यो हो आधुनिक कृषि पशुपालनको मोर्चा। ‘अवकाश पाएको दिनदेखि नै व्यवसायमा होमिएको,’ मुस्कुराउँदै देव भन्छन् । बुबाआमाले सुरु गरेको सानो गोठलाई उनले गहन रिसर्च र नाफाको लेखाजोखाका आधारमा व्यावसायिक फार्ममा परिणत गरे। यसरी जन्मियो ‘एन डिडिडि कृषि तथा पशुपक्षी फार्म ।’

    देवको फार्ममा उन्नत जातका ११ वटा होलस्टाइन गाई, दुई वटा भैंसी र बाच्छाबाच्छी गरी कुल २१ वटा गाईबस्तु छन् । साथमा बाख्रा र लोकल कुखुरा पनि पालिएका छन् । फार्मको सबैभन्दा ठूलो सफलता नै यहाँको व्यवस्थापन हो । दैनिक २ सय लिटर दूध उत्पादन गरेर उनले चन्द्रगिरी नगरपालिकामै बिक्री गर्छन् । दूध बिक्री नभए पनिर वा घ्यु बनाएर बेच्ने योजनाले घाटाको सम्भावनालाई शून्यमा झारेको छ। सेनाको अनुशासन र व्यवस्थापकीय क्षमताले गर्दा नै फार्म चलाउन सहज भएको उनी बताउँछन् । देव एक्ला छैनन् । फार्ममा परिवारका पाँच जना सदस्य नियमित खट्छन् । १५ वर्षे छोरा र ११ वर्षीया छोरी पनि सानैदेखि गोठमा रमाइरहेका छन् । ‘छोरो भन्छ, ठूलो भएपछि बाबालाई साथ दिन्छु। त्यो सुन्दा त अझ ऊर्जा आउँछ,’ देव गर्वका साथ सुनाउँछन् ।

    लगानीको हिसाब गर्दा देवले फार्ममा करिब १ करोड ६० लाख रुपैयाँ खर्चेका छन् । यो यात्रामा चुनौतीहरू कम थिएनन् ।  सुरुसुरुमा जागिर खाएर आएको मान्छे दुधको क्यान बोकेर हिड्न असहज हुन्थ्यो । पछि काम गरेपछि किन लाज मान्ने जस्तो भयो।  पहिलो गाई किन्दा १ लाख ९० हजार रुपियाँ खर्चेको सम्झना छँदैछ, एक पटक लगानी गरेको गाई ओछ्यानमै मरेपछि ‘पैसा मात्रै होइन, सपना खेर जाँदैछ’ भन्ने क्षणको अनुभव पनि गरे । तर आफ्नो दृढ संकल्पले उनलाई पछि हट्न दिएन । लाजलाई पन्छाउँदै मेहनत गर्दा परिणाम हात लाग्यो ।  सुरुको महिनामै साढे २ लाख रुपैयाँ कमाइ भयो । अहिले सबै खर्च कटाएर महिनामा झण्डै ७० हजार रुपैयाँ बचत हुन्छ ।

    देव कुमार सुवेदीको लागि आम्दानीभन्दा ठूलो कुरा हो, देशमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास । कृषि प्रधान देशमा माटोसँग जोडिएर बसेको मान्छेले रोजगारीका लागि विदेशिनु नपर्ने उनी बताउँछन् ।  उनी भन्छन्, ‘यो काम मैले नयाँ पुस्तालाई जानकारी दिनका लागि पनि गरेको हुँ ।’ उनको आगामी योजना ५० वटा गाई पुर्याउने रहेको छ । यसका लागि उनले स्थानीय निकायसँग पनि सहयोगको अपेक्षा राखेका छन् । देवको आधुनिक कृषि पशुपालन मिशनले स्पष्ट भन्छ  प्रविधिको भरपुर उपयोग, धैर्यता, मेहनत र दृढसंकल्प भए विदेश जानै पर्दैन र  देशमै बसेर पनि सम्मानजनक र राम्रो भविष्य निर्माण गर्न सकिन्छ । उनी आज सक्षम किसान मात्र होइनन्, नेपाली उद्यमको एक सफल उदाहरण पनि बनेका छन्।

                

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij