काठमाडौं।
बालाई क्यान्सर भयो
भा'को गहना पैसा जति असपतालमै गयो
किन जन्म दियौ भगवान
म दुखीलाई कर्मैले ठग्यो झन्
बालाई निको पार्न भनी अरबतिर लागेँ
भाषा बोल्न नजानेर धेरै दुख पाएँ
साहुनीका छोराछोरी स्कूल हररर
यो देखेर मेरो मन रोयो दररर..
उनले लोकदोहोरी भाकामा यहि गीत सुनाइन् त्यो दिन।
गीत संगीतले मन नछुने मानिस बिरलै भेटिएलान्। तर गीतले आफ्नै र आफ्नो वरिपरिको कथा बोलेको अनुभूति शब्दले मात्र होइन, त्यसको भावले दिन्छ। यसपटक हामीले लोकदोहोरी गायिका छुमा गैरेलाई सुन्यौं। छुमाको गीतले उनी र उनी जस्तै कयौं चेलीको वास्तविकता बोल्छ। अनि स्वरको उतार–चढावले संघर्षको चित्र झल्किन्छ र प्रत्येक टुक्कामा पिडा र आत्मविश्वास सुनिन्छ।
पाल्पा माथागढी गाउँपालिकाको झरेवाकी छुमा गैरेसँग हाम्रो पहिलो भेट शुभ अवसरग्राम नेपाल नामक संस्थाले आयोजना गरेको तालिममा भयो। त्यहाँ उनले आफ्नो जीवनको संघर्ष झल्किने यहि गीत सुनाइन् । गीत सुनेपछि हामीलाई लाग्यो- उनको संघर्ष सुन्नुपर्छ।
अनि दोस्रो भेट उनी बस्ने कोठामा गर्ने भनेर त्यो दिन हामी छुट्टियौँ।
... ... ...

काठमाडौंको ढुंगेधारामा उनको डेरा छ। उनको डेरामा पुग्दा हामीलाई अनौठो लाग्यो। कोठाभरी खेलौना फिँजिएका थिए, साना-ठुला, रङ्गी-विरङ्गी!
सानो तर चिटिक्कको कोठा। यो कोठामा जीन्दगीभरका स्मरणलाई फोटोमा उतारेकी छन् उनले। श्रीमान, छोरा, आमा अनि दिदीबहिनीसंगको आत्मीयता साटेकी छन् । विदेशका जस्ता तस्वीर पनि भेटिन्छन् कोठाभरी! केही कार्यक्रममा पाएका मायाको चिनो पनि कोठामा छन्।
'यी याद, चिनो अनि टेडी वियरका खेलौना नै मेरो जीवनका अमूल्य सम्पत्ति जस्तै लाग्छ मलाई।' अघिदेखीको हाम्रो अप्रकट जिज्ञासामा उनको यत्ति उत्तर पायौँ हामीले।

छुमाका दुई छोरा छन्, सानै छन्। सन्तानको उज्यालो भविष्यको लागि दिन रात मिहिनेत गरिरहेकी छिन् उनले। मिहिनेत गर्ने दौरानमा कयौं अध्यारो समय पार गर्दै आएकी छिन्। चकमन्न रातजस्तो अध्यारो समय चिरेकी छुमालाई अचेल सानातिना कुराले छुनै छोडिसके। किनकी दोहोरी साँझको यो मञ्चसम्म आइपुग्न उनले सानो संघर्ष गरेकी छैनन्।
एकैछिनको अनौपचारिक कुराकानीपछि उनले आफ्नो ३० वर्षे कहानी सुनाउन थालिन्- १४ वर्षमै विदेशिनुपरेको बाध्यतादेखी दोहोरी साँझको यात्रासम्म !
... ... ...
मेरो संघर्षको सुरुवात बुवाआमाको काखबाटै भैसकेको थियो। विपन्न आर्थिक अवस्था झेलेकी मैले किशोरवयमा नटेक्दै परिवारको ठूलो जिम्मेवारी उठाउनुपर्यो। परिवारकी जेठी सन्तान भएकैले मलाई सानैमा ठुलो जिम्मेवारी आइलाग्यो।
भर्खर किशोरावस्थामा टेक्दै थिएँ म। त्यतिखेरै हो, मेरा बुवालाई क्यान्सरले च्याप्यो। उपचारको पैसा जोहो गर्ने परिवारमा कोही थिएन। फेरि, बुबाको उपचार गर्नु पनि अनिवार्य थियो। यस्तो परिस्थितिले मलाई सानैमा विदेशिने सोच आयो। त्यतिखेर जम्मा १४ वर्षकी थिएँ म। बाध्यताका अगाडि मेरो उमेरले छेकेन। जसोतसो कहाँकहाँको सम्पर्कबाट म साउदी अरब गएँ।
मैले पहिलोपल्ट १४ वर्षकै उमेरमा आमाबा अनि आफन्त छोडें, देशै छोडें। तर मेरो यो अपरिपक्क निर्णय अभिशाप बन्यो। त्यसपछि मेरा अझ अध्यारा दिनहरू सुरू भए। काम गर्ने उमेरहद नपुगेकैले म साउदीमै जेलमा परें। जेल छँदाका ती दिन म आज पनि झल्झली सम्झिन्छु। मलाई त सम्झियो कि आँशु आउँछ।
म जेलमै थिएँ। त्यही बेला मेरो जीवनमा अर्को बज्रपात भयो, मेरा बुबा बित्नुभएछ। कलिलो उमेरमा भएका त्यति ठूला घटनाले म हदभन्दा धेरै दुःखी भएँ। मलाई त आकास खसे जस्तै लागेको थियो नि! धेरै रोएँ, कराएँ! तर त्यसरी सधैँ नचल्ने रहेछ।
झन्डै दुई वर्षपछि म जेलबाट छुट्दा सामान्य भइसकेकी थिएँ। जेलबाट छुटेपछि साउदीमै केही महिना घरेलु कामदारको रूपमा काम गरें। त्यसपछि नेपाल फर्किएँ। तर नेपाल आएको एक महिनामै मलाई फेरि विदेशले तान्यो, जानुपर्ने बाध्यता आइलाग्यो!
मेरो दोस्रो पटकको विदेश-संघर्ष कुवेतमा भयो।
कुवेतमा पनि मैले सुख-दुःख २ वर्ष बिताएँ, केही कमाएँ र घर फिरें। काठमाडौंमा बस्न थालेकी मैले आफ्नो पुरानो प्रेमीसँग भेटें र विवाह गरें।
विवाहपछि पनि मैले कैयौँ काम गरें। सुरुमा पुस्तक पसलमा काम गरें। त्यहाँ खासै राम्रो नभएपछि मैले घरमै बसेर डल बनाएर बेच्न थालें। त्यतिखेरसम्म दुइटा छोरा जन्मिसकेका थिए। त्यो कामले पनि मलाई पुग्ने अवस्था थिएन। म निराश थिएँ। श्रीमानको स्वास्थ्य अवस्था पनि राम्रो नभइसकेपछि अन्ततः मैले रातको पेसा रोजें, मेरो नयाँ अध्याय सुरू भयो।
मलाई एक परिचित व्यक्तिले नै दोहोरीमा गाउन सुझाएका थिए। मलाई गाउन पनि आउँथ्यो। आफूले जानेको काम गर्दै कमाउन सकिने कुरा थाहा पाएपछि त धेरै खुसी लाग्यो नि! त्यतिखेरको खुसीको कुरा के गर्नु! सबै ढोका बन्द भएको बेला, एउटा ढोका खुलेझैँ लागेको थियो। तर मैले पछि मात्र थाहा पाएँ, धेरै खुसी हुनुपर्ने केहि रहेनछ रातको काममा!
सधैँ दिनमा काम गरेकी मलाई रातको काम नयाँ थियो। मलाई रातसँग अभ्यस्त रहन समय लाग्यो। सुरुमा माइक समाउँदा हात काँप्यो तर स्वरमा अद्भुत शक्ति थियो। त्यो स्वरमा संसारको दुःख भुलाउने जादु थियो। मान्छेको मनभित्र गएर छुन्थ्यो। तर दोहोरी साँझको सुरूवाती दिन मेरो लागि निकै कठिन भए। मैले शारीरिक, मानसिक तथा सामाजिक सबै कठिनाई झेलें। अब त मलाई यो सबैको बानी परिसकेको छ। दोहोरीकी गायिका भएर म टिकिराखेकै छु, गीत गाइराखेकै छु। तर मेरा लागि रातमा गीत गाउनु रहर भन्दा ज्यादा बाध्यता हो।
... ... ...
भन्नुपर्ने कयौँ थिए होलान् । तर त्यति लामो कहानी सुनाउन उनलाई हतारो थियो। हामीलाई पनि हतार थियो। दोहोरी साँझसम्मको सरसर्ती कथा लिएर हामी आयौँ।
उमेरले तीन दशक मात्रै काटेकी छुमाको बिगत सुन्दा लाग्छ, उनले तीन जुनी नै फेरिसकिन्।
छुमा आज पनि एक सम्मानित पेशाको खोजीमा छिन् । पेशाको सम्मानको खोजी गर्दागर्दै उनले ८ वटा दोहोरी साँझ फेरेको पत्तै पाइनन् । हाल उनी कार्यरत संस्था नवौं दोहोरी साँझ हो । छुमा जस्ता सयौं गायिकाहरू छन्, जो हरेक रात दर्शकको मनोरञ्जनका लागि गीत गाउँछन्। तर उनीहरूको पारिश्रमिक कम छ भने पेशाको सम्मान अझ न्यून छ ।
लोकदोहोरी र डान्स बारजस्ता ठाउँमा काम गर्ने महिलाहरू समाजका आँखामा अझै पनि “सम्मानित कलाकार” बन्न सकेका छैनन्। अरूको त के कुरा, सञ्चालकबाटै सम्मान पाउँदैनन् उनीहरू।
अहिले पनि छुमा र छुमा जस्तै कयौँले प्रश्न गरिराखेका छन्, हामी जस्ता किशोरी तथा महिलाहरूलाई इज्जतका साथ आफ्नो पेशाबारे भन्ने समय कहिले आउला? रात्रीकालिन पेशालाई पेशा मान्ने समाज कहिले देख्न पाइएला?


