काठमाडौं । कुनै समय साइकल चढेर मन्त्रालय पुग्ने मन्त्रीका रूपमा चर्चित बनेका लालबाबु पण्डित आज पनि त्यही सादगीमा बाँचेका छन्। तर अहिले उनको जीवनमा एउटा यस्तो खालीपन छ, जुन कुनै पद, शक्ति वा लोकप्रियताले भरिन सकेको छैन। पत्नी बिमला पण्डितको वार्षिक क्रियाकर्म सकेर ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भेटिएका उनी सार्वजनिक जीवनमा जति दृढ देखिए पनि निजी जीवनको पीडा लुकाउन भने सकेका थिएनन्।
'राजनीतिक जिम्मेवारीदेखि पारिवारिक जिम्मेवारीसम्म सबै कुरा उहाँले नै सम्हाल्नुहुन्थ्यो,' उनी पत्नीलाई सम्झँदै भन्छन्। 'अहिले ती सबै जिम्मेवारी ममाथि थपिएका छन्। एक किसिमको एक्लोपन पनि छ, बोझिलो पनि छ।'
सामाजिक सञ्जालमा पत्नीको सम्झनामा उनले लेखेका भावुक शब्दहरूले धेरैको मन छोएको थियो। तर उनी आफ्नो पीडालाई जीवनको अन्तिम सत्य मान्दैनन्। 'राजनीतिमा म पूर्ण रूपमा सक्रिय नै छु,' उनी भन्छन्। सामाजिक सञ्जालमार्फत आफ्ना विचार राख्ने, अन्तर्वार्ता दिने र लेख लेख्ने कामलाई उनले निरन्तरता दिइरहेका छन्।
सर्लाहीको एउटा सामान्य गाउँमा जन्मिएका लालबाबु पण्डितको बाल्यकाल अभावबीच बित्यो। राम्रो विद्यालय थिएन, अवसरहरू पनि सीमित थिए। तर उनले आफ्ना सपनालाई सीमाभित्र कैद हुन दिएनन्। शिक्षाको खोजीमा उनी सानै उमेरमा तराईबाट पहाड पुगे। बुटवलदेखि तानसेनसम्म सडक नै पूर्ण रूपमा नबनेको समय थियो। पहिलो पटक अग्ला पहाड देख्दा चक्कर लागेको र पुल नभएको झुम्सा खोलामा भरियाले डोकोमा बोकेर पार गराएको सम्झना उनले अझै बिर्सिएका छैनन्।
पाल्पाको तानसेनमा माध्यमिक तहको अध्ययन पूरा गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए। थापाथली क्याम्पसमा मेकानिकल इन्जिनियरिङ पढ्दै गर्दा समाजका असमानता र विभेदले उनलाई गहिरो रूपमा छोयो। जातीय विभेद, श्रमिकमाथिको शोषण र अन्यायविरुद्ध बोल्नुपर्छ भन्ने विश्वासले उनलाई राजनीतितर्फ डोर्यायो।
इन्जिनियरिङ सकेपछि उनी बालाजु यन्त्रशालामा काम गर्न पुगे। त्यहीँ उनले श्रमिकमाथि हुने विभेदलाई नजिकबाट देखे। त्यसै क्रममा नेपाल स्वतन्त्र मजदुर युनियन गठनको सुरुआत आफ्नै कोठा र आफ्नै ओछ्यानबाट भएको सम्झना उनी सुनाउँछन्। मजदुर आन्दोलनबाट सुरु भएको उनको राजनीतिक यात्रा पछि राष्ट्रिय आन्दोलनसँग जोडिँदै गयो।
त्यो समय अधिकारको कुरा गर्नु सामान्य कुरा थिएन। संगठन निर्माण गर्नु र आवाज उठाउनु नै अपराधसरह मानिन्थ्यो। आन्दोलनकै क्रममा उनी पटक पटक पक्राउ परे। हनुमानढोका, सेन्ट्रल जेल, भद्रगोल जेल र गोलघरमा बिताएका दिनहरू उनका लागि सजिला थिएनन्। करिब एक वर्ष जेल जीवन बिताउँदा शरीर बन्द कोठाभित्र थुनिए पनि उनका विचारहरू भने झन् फराकिला हुँदै गए।
मोरङमा श्रमिक संगठन विस्तार गर्ने क्रममा उनले जननेता मदन भण्डारीसँग नजिकबाट काम गर्ने अवसर पाए। उनी भन्छन्, आफ्नो राजनीतिक जीवनलाई राष्ट्रिय आन्दोलनसँग जोड्ने प्रेरणा मदन भण्डारीबाटै प्राप्त भएको हो। त्यसपछि मोरङलाई कार्यक्षेत्र बनाएर उनले प्रतिनिधिसभा र संविधानसभासहित विभिन्न जिम्मेवारी निर्वाह गरे।
संघर्षको लामो यात्रापछि वि.सं. २०७० सालमा उनी सामान्य प्रशासन मन्त्री बने। छोटो कार्यकाल भए पनि प्रशासन सुधार र दीर्घकालीन नीतिगत निर्णयलाई उनले प्राथमिकतामा राखे। 'सिंहदरबार बदलिने संघर्षमा लागौँ, सिंहदरबार नबदलिँदासम्म देश बदलिँदैन,' भन्ने उनको विश्वास त्यतिबेलादेखि नै स्पष्ट थियो। यही सोचलाई उनले पुस्तकमार्फत पनि सार्वजनिक गरेका छन्।
मन्त्री हुँदा उनी सरकारी गाडी चढ्थे, तर अवसर मिल्दा साइकल चढ्न छोडेनन्। यही कारण उनी 'साइकल मन्त्री' भनेर चिनिए। कसैले सम्मानका साथ त्यो नाम दिए त कसैले व्यंग्यका रूपमा। तर उनलाई त्यसले कहिल्यै फरक पारेन। आज पनि उनको निजी सवारी छैन। आवश्यक पर्दा बस, ट्याम्पो, पठाओ, इनड्राइभ वा अरूको लिफ्ट प्रयोग गरेर यात्रा गर्छन्।
नेपालमा संघीयता कार्यान्वयनसँगै कर्मचारी समायोजनको जटिल जिम्मेवारी पनि उनले सम्हाले। धेरै देशमा वर्षौँ लाग्ने काम नेपालमा छोटो समयमा सम्पन्न भएको अनुभव सुनाउँदै उनी त्यो आफ्नो महत्वपूर्ण उपलब्धिमध्ये एक भएको बताउँछन्।
यति धेरै आन्दोलन, जेल जीवन, चुनाव, सरकार र प्रशासनिक सुधारको यात्रापछि पनि एउटा प्रश्न भने उनीभित्र अझै जीवित छ,'के जनताले सोचेजस्तो परिवर्तन पाए?'
उनको उत्तर स्पष्ट छ। निरंकुश पञ्चायती व्यवस्थाबाट बहुदलीय प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नु आफैंमा ठूलो उपलब्धि भएको उनी मान्छन्। तर त्यति भएर मात्रै पुग्दैन भन्ने पनि स्वीकार्छन्। 'भएको छ,' उनी भन्छन्, 'तर पुगेन।'
साढे पाँच दशकभन्दा बढी समय राजनीति, आन्दोलन र सार्वजनिक सेवामा बिताएका लालबाबु पण्डितको जीवनले संघर्ष केवल सत्ता प्राप्तिका लागि होइन, आफ्ना विश्वासलाई अन्तिमसम्म बोकिरहनका लागि पनि हुन्छ भन्ने सन्देश दिन्छ । आज उनीसँग पद छैन, निजी गाडी छैन,उनी अझै कोठा भाडामै बस्छन् । उनको आफ्नो जीवनसाथी पनि साथमा छैनन्। तर आफ्ना विचार, सादगी र परिवर्तनप्रतिको विश्वास भने अझै उस्तै अडिग छन्।


