Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

‘सेफ्टी बेल्टले ज्यान जोगायो’

‘सेफ्टी बेल्टले ज्यान जोगायो’

बिहीबार , पुस १० २०८२
बिहीबार , पुस १० २०८२
  • काठमाडौं। मलेसियामा बिताएका कष्टकर ४८ महिनापछि विजय कुमार लामा जब त्रिभुवन विमानस्थलबाट ओर्लिए, तब उनलाई लाग्यो-‘अब विदेशमा दुःख पाएकालाई उद्धारको काम गर्नुपर्छ।’ त्यसपछि सुरु भएको उद्धार र समाजसेवाको काम उनले आजसम्म कायम राखेका छन्। काम थालेको झण्डै १५ वर्षपछि अहिले वैदेशिक रोजगार उद्धार श्रमिक संघको महासचिवको रूपमा उनी छन्। संघले हालसम्म धेरै श्रमिकलाई उद्धार गरिसकेको छ।

    images

    विजय कुमार लामाले त्यस्तो के भोगे, जसले उनलाई आफूजस्तै वैदेशिक रोजगारीमा दुःख पाएकालाई उद्धार गर्ने प्रेरणा मिल्यो?

    प्रेरणाको प्रमुख स्रोत त उनले विदेशमा पाएको दुःख नै हो।

    धेरै नेपालीजस्तै परदेश जानुपर्ने बाध्यता उनलाई पनि आइपर्यो-नेपालमा क्रान्ति चर्किएको वर्ष २०६३ मा। चैत २३ गतेको दिन विजय कुमार लामा थाइ एयरलाइन्सको जहाज चढ्दै मलेसियातर्फ उडे। नेपालमै रहँदा उनलाई डीएचएल जस्तो विश्वप्रसिद्ध कम्पनीमा काम गर्ने र दैनिक ६३ रिंगेट तलब पाउने आश्वासन दिइएको थियो। विश्वसनीय देखिने कम्पनीको नाम र आकर्षक आम्दानीको लोभले उनले घर, परिवार र परिचित संसार छाडे।

    तर मलेसिया पुगेपछि उनले सोचेजस्तो भएन। सम्झौतामा उल्लेख गरिएको कम्पनीमा नभई उनलाई एक सप्लायरमार्फत काममा लगाइयो। तलब पनि भनिएअनुसार पाएनन्। सुरुका २८ दिन उनी मलेसियाको ‘दलिया बिल्डिङ’ नामक स्थानमा काम गरे। त्यहाँ उनलाई कामदारभन्दा बढी बन्धकझैँ गरी राखियो। मलेसिया पुगेको २८ दिनमै उनले बुझ्न थाले- ‘परदेशी दुःख विमानबाट ओर्लनासाथ सुरु हुँदो रहेछ।’

    केही समयपछि उनले नेस्ले कम्पनीमा मेसिनसम्बन्धी तालिम पाए र साहलमस्थित डीएचएलमा काम सुरु गरे। ‘लाग्थ्यो, अब अवस्था सुध्रिनेछ। तर भाग्यले मलाई फेरि परीक्षा लियो। काम थालेको १३ औँ महिनामा, ओभरटाइमका क्रममा फोर्कलिफ्ट चलाउँदा उकालोमा ह्यान्डब्रेक नतान्दा मेसिन पल्टियो।’ उनी त्यो घटना सम्झिँदै भन्छन्, ‘सेफ्टी बेल्टका कारण मेरो ज्यान जोगियो।’

    दुर्घटनापछि सुरु भएको मानसिक यातना झन् गहिरो थियो। कम्पनीका म्यानेजर मिस्टर सुप्राले मेसिन बिगारेको आरोप लगाउँदै ४५ हजार रिंगेट जरिवाना तिर्न दबाब दिए। पैसा नतिरे हातखुट्टा बाँधिदिने धम्की आएपछि उनी भयभीत भए। परदेशमा न कानुनी पहुँच थियो, न भाषा बुझ्ने क्षमता। उनी भन्छन्, ‘अन्ततः साथीहरूको सहयोगमा १०–१० रिंगेट उठाएर केही खर्च जुटाइयो र बाँच्न सफल भएँ।’ राति ११ बजे चिनियाँ ट्याक्सी चढेर उनी कम्पनीबाट भागे। त्यो भागाइले उनको ज्यान त जोगायो, तर उनी मलेसियामा अवैधानिक बन्न पुगे।

    अवैधानिक बनेपछि जीवन झन् कठिन भयो। पहिलो रात उनले खोलाको किनारमा बिताए। भोलिको दिन कस्तो होला भन्ने अन्योल र डरले निद्रा लागेन। केही समयपछि एक दयालु नेपालीको सहयोगमा उनले लुकेर काम पाउन सफल भए। ३७ तलाको ‘दुद्दारिया कन्डमिनियम’मा उनले नौ महिनासम्म रातिको ड्युटी गरे। त्यही कामबाट उनले ऋण तिर्ने, खानबस्न जोहो गर्ने र बाँच्ने आधार जुटाए।

    मलेसियामा बितेका दिनहरूमा इमिग्रेसन पुलिसको छापा उनको दैनिकीको सबैभन्दा ठूलो डर थियो। कतिपटक भाग्दै, कतिपटक लुक्दै बितेका ती ४६ महिना उनको जीवनकै सबैभन्दा कठिन र अन्धकारपूर्ण समय बने। डर, अपमान र असुरक्षाबीच बितेका ती दिनहरूले उनलाई भित्रैदेखि बदलिदिए।

    अन्ततः सन्तोष लिम्बु लगायत साथीहरूको सहयोगमा आवश्यक इमिग्रेसन प्रक्रिया पूरा भयो र ४६ महिनापछि उनी नेपाल फर्किन सफल भए। त्रिभुवन विमानस्थलमा पाइला टेक्दा उनले राहत मात्र होइन, एउटा गहिरो जिम्मेवारी पनि महसुस गरे। आफूले भोगेको पीडा अरू नेपालीले नभोगून् भन्ने दृढ संकल्प त्यहीँ जन्मियो।

    त्यही अनुभूतिले उनलाई सामाजिक सेवातर्फ डोर्‍यायो। २०८० साल वैशाख १७ गते विजय कुमार लामा वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालको महासचिव बने। आज उनी कुवेत, मलेसिया, साउदी अरब, दुबई र ओमानजस्ता मुलुकमा अलपत्र परेका नेपालीहरूको उद्धारमा सक्रिय छन्। पासपोर्ट खोसिएका, कम्पनीबाट निकालिएका, तलब नपाएका वा जेलको जोखिममा परेका नेपालीहरूका लागि उनी अन्तिम आशाको रूपमा देखिन्छन्।

    संघमार्फत हालसम्म ८० भन्दा बढी व्यक्तिको वैधानिक उद्धार भइसकेको छ। विदेशमा ज्यान गुमाएका नेपालीहरूको शव नेपाल ल्याउन सहजीकरण गर्नु, पीडित परिवारलाई कानुनी प्रक्रियामा सहयोग गर्नु र ठगीमा परेकाहरूलाई वैदेशिक रोजगार विभाग तथा प्रहरीसम्म पुर्‍याउनु उनको नियमित काम बनेको छ। अहिलेसम्म ८–९ वटा शव नेपाल ल्याउन सफल भइसकेको लामा बताउँछन्। उनी स्वयं कानुन व्यवसायी भएकाले ठगीमा परेकाहरूलाई कानुनी बाटो देखाउन अझ सहज भएको बताउँछन्।

    लामाका अनुसार वैदेशिक रोजगारीका नाममा ठगिने नेपाली मुख्यतः दुई वर्गका हुन्छन्। शिक्षित वर्ग प्रायः भिजिट भिसामा दुबई गएर त्यहाँबाट जापान वा युरोप पठाइदिने प्रलोभनमा ठगिन्छन्। अशिक्षित वर्ग भने प्रक्रिया नबुझ्दा, पैसा तिरेको रसिद नराख्दा र म्यानपावरको नामसमेत थाहा नपाउँदा समस्यामा पर्छन्। ‘ठगीको जड लोभ र जानकारीको अभाव हो,’ उनी भन्छन्।

    उनकी आमा स्वयं समाजसेवी हुन्। आमाबाट पाएको सेवाभाव नै उनको जीवनदर्शन बनेको छ। सरकारी तलब वा प्रत्यक्ष आर्थिक सहयोग नपाए पनि उनी ‘सेवा नै धर्म हो’ भन्ने विश्वासका साथ उद्धार अभियानमा निरन्तर लागिरहेका छन्। आर्थिक अभाव, मानसिक दबाब र जोखिम हुँदाहुँदै पनि उनी पछि हट्दैनन्।

    ‘जब कुनै पीडित उद्धार भएर नेपाल फर्किन्छ, विमानस्थलमा माटो छुँदै रुँदै धन्यवाद दिन्छ, त्यो क्षणले सबै दुःख बिर्साइदिन्छ,’ लामा भन्छन्। परदेशको पीडाबाट जन्मिएको यही संवेदनाले आज विजय कुमार लामालाई सयौँ नेपाली श्रमिकका लागि भरोसा र आशाको प्रतीक बनाएको छ।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij