Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

चार वर्षमै विवाह

चार वर्षमै विवाह

शुक्रबार, पुस २५ २०८२
शुक्रबार, पुस २५ २०८२
  • काठमाडौं। पशुपतिनाथ मन्दिर छेऊको बागमती किनार। एकातिर किनारछेऊ जलिरहेका चिताहरूले जीवनको अन्तिम सत्य सम्झाइरहेका छन् भने अर्कातिर सरकारद्वारा सञ्चालित नेपालकै पुरानो पशुपति बृद्धाश्रमको आँगनमा टोलाइरहेका आँखाहरूले जीवनको अर्को अर्थ खोजिरहेका छन्। सबैबाट निराश र अपहेलित भएर आएका उनीहरू जीवनका विरहहरू साँट्दै कटाइरहेछन् जीवन।

    images

    त्यही बृद्धाश्रमको एउटा कुनामा चुपचाप बसेकी भेटिन्छिन्—रसुवाकी ७८ वर्षिया मैया न्यौपाने। २०७३ सालदेखि यही आश्रम उनको स्थायी घर बनेको छ। उमेरले ओरालो लाग्दै जाँदा उनका अनुहारका चाउरी र आँखाभित्र जीवनभरको संघर्ष स्पष्ट देखिन्छ। उनी प्रायः आफैँसँग प्रश्न गर्छिन्—जीवन त बित्यो, तर के मैले साँच्चैको जीवन ज्यून पाएँ ?

    मैयाको कथा सुन्दा आजको पुस्तालाई असम्भवजस्तै लाग्न सक्छ। उनी जम्मा चार वर्षकी थिइन्, जब उनलाई विवाहको नाममा बेहुली बनाइयो। ‘विवाह के हो, सिन्दुर र चुरा किन लगाइन्छ—मलाई केही थाहा थिएन,' मैया सम्झिन्छिन्, 'घरमा पाहुना आएका थिए, मिठो खान पाइएको थियो, नयाँ लुगा लगाउन पाइएको थियो। म त त्यसैमा खुसी थिएँ।'

    कापी–कलम र खेलौनासँग खेल्नुपर्ने उमेरमा उनको काँधमा गृहस्थीको जिम्मेवारी थोपारियो। विवाहको बाजा र सहनाईको धुनबीच उनी रमाएकी देखिइन्, तर त्यो रमाइलोपनभित्र लुकेको पीडा उनलाई थाहा थिएन।

    विवाहपछि केही समय उनी माइती र घर ओहोरदोहोरमै बसिन्। सासुको मायाले उनलाई केही समय आड र भरोसा दिएको थियो। तर त्यो साथ लामो समय टिकेन। सासुको निधनसँगै मैयाको जीवनले नयाँ मोड लियो।


    उनले विवाहको अर्थ बुझ्न थालेको समय (११ वर्ष) थियो—उनका श्रीमानले अर्की श्रीमती भित्र्याए। त्यो क्षण सम्झिँदा आज पनि उनका आँखा रसाउँछन्। ‘सम्झना त कहाँ प्रष्ट हुनु! त्यतिखेरको पिडा भने ह्रदयभित्र गहिरोगरी बसेको छ बाबै!’ एक बालखझैँ बोल्यो एक बुढो ज्यान।

    त्यसपछि उनी माइत फर्किइन्।

    त्यसपछिका वर्षहरू संघर्षमै बिते। मेलापात र खेतीपाती गरेर उनले जीवन धानिरहिन्। आमासँग रहँदासम्म संसार केही सुरक्षित लाग्थ्यो। तर आमाको देहान्तपछि त्यो आधार पनि टुट्यो। दुई दिदीहरू पनि पालैपालो बिते। माइतीघरमै आफू अनावश्यक जस्तो महसुस हुन थाल्यो मैयालाई।

    केही समय मामाघर बसिन्। पछि छोरा लिन आएपछि उनी पुनः घर फर्किइन्। तर समय र सम्बन्ध दुवै बदलिसकेका थिए। अन्ततः २०७३ सालमा उनको जीवन पशुपति वृद्धाश्रममा आइपुगेर रोकियो।

    आज यहाँ उनलाई खान–बस्नको अभाव छैन। काम गर्नु पर्दैन। तर मनभित्र गहिरो खालिपन छ।
    ‘पशुपतिको काखमा छु, ‘उनी पिडा पोख्छिन्, ‘बाहिरबाट हेर्दा सबै ठीक देखिन्छ, तर मन कहिल्यै खुसी हुन सकेन। साँच्चै, खुसी भन्ने चिज मेरो जीवनमा कहिल्यै आएन!’

    अब उनलाई बाँकी जीवन कसरी बिताउने भन्ने चिन्ताले सताउँछ। उनको एउटै अन्तिम इच्छा छ—जीवनको अन्तिम क्षण आफ्नै घरमा पुग्न पाऊँ र आफ्नै माटोमा अन्तिम संस्कार होस्।
    ‘आफ्नै माटोमा प्राण त्याग्न पाए पुण्य मिल्थ्यो कि भन्ने लाग्छ,’ उनी भावुक स्वरमा भन्छिन्।

    मैया न्यौपानेले भोगेको कुरा नेपाली समाजका अघिल्लो महिला पुस्ताले भोग्ने कठोर यथार्थ हो। पशुपति वृद्धाश्रमका यी भित्ताभित्र मैया जस्तै धेरै आमाहरू छन्। कथाहरू फरक भए पनि पीडा एउटै छ—अपनत्वको अभाव।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij