Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बाल्यकालदेखि राजधानी सम्मको संघर्ष

बाल्यकालदेखि राजधानी सम्मको संघर्ष

शनिबार, फागुन ९ २०८२
शनिबार, फागुन ९ २०८२
  • काठमाडौँ। ओखलढुंगाको पहाडी हावामा हुर्किएको एउटा बालकले कहिल्यै कल्पना गरेको थिएन—उसको जीवन यति छिट्टै मोडिनेछ भनेर। कक्षा तीनमा पढ्दै गरेका १३ वर्षे दिनेश तुलङगीका हातमा कापी–कलम थियो, तर समयले ती हातमा बाध्यता थमाइदियो। गाउँमा माओवादी द्वन्द्वको त्रास बढ्दै गयो। विद्यालय नजिकैबाटै विद्यार्थी समातेर लैजाने हल्ला चल्थ्यो। एकदिन बुबा–आमाले उनलाई बोलाए—“जा बाबु, केही समयका लागि बाहिर जानुपर्छ।” त्यस दिन उनले केवल घर मात्र छोडेनन्, आफ्नो बाल्यकाल पनि छोडे।

    images

    भारत पुग्दा उनी बालक थिए—भाषा नजान्ने, कोही चिनेजाने नभएको। सुरुमा होटलमा भाडा धुने काम पाए। “भाषा नआउँदा जे पाइयो त्यही गर्नुपर्थ्यो,” उनी सम्झिन्छन्। विस्तारै उनले भाषा सिके, काम सिके, भान्सामा हात बसाए र अन्ततः कुक बने। करिब १३ वर्ष भारतमा बित्दा जीवन लयमा आउँदै थियो। कमाइ ठीकै थियो, परिवारको भविष्य केही सहज देखिन थालेको थियो।

    तर जीवन सीधा रेखामा बग्दैन। कोभिड–१९ महामारी आयो। लकडाउन लाग्यो। तीनतारे होटल बन्द भए। रोजगारी गुम्यो। “सबै बन्द भएपछि बस्ने आधारै रहेन,” उनी भन्छन्। बाध्य भएर नेपाल फर्किए।

    काठमाडौं फर्किएपछि उनले निर्माण क्षेत्रमा मिस्त्री काम सुरु गरे। डन्डी मोड्ने, प्लास्टर गर्ने, ढलान हाल्ने—श्रमसँग उनी अपरिचित थिएनन्। तर यहाँ अर्को पीडा थियो—काम गरेपछि पनि पारिश्रमिक नपाउने। “तीन–चार महिना काम गर्दा पनि पूरा पैसा नदिने, भोलि–पर्सि भनेर टार्ने,” उनी भन्छन्। श्रमको मूल्य नपाउँदा उनले पेशा बदल्ने निर्णय गरे।

    अहिले उनी काठमाडौंका सडकमा फोहोर संकलन गर्छन्। बिहान गाडीको सिठीसँगै दौडिनुपर्छ। सुरुमा गाडी पछ्याउँदै कुद्नु अप्ठ्यारो लाग्यो। “हामी त एकै ठाउँमा उभिएर काम गर्ने बानी, गाडीसँगै कुद्दा असहज भयो,” उनी हाँस्दै भन्छन्। तर केही दिनमै त्यो पनि बानी बन्यो।

    यो काममा उनले दुवै अनुहार देखेका छन्—गाली र माया। कसैले फोहोर ढिला उठ्यो भन्दै झर्किन्छन्, त कसैले घरभित्रैबाट पानी र खाजा दिन्छन्। “राम्रो र नराम्रो दुवै पाइन्छ,” उनी सहज रूपमा भन्छन्। गाली सुन्दा पनि उनी धेरै बोल्दैनन्। “काम गरिरहेपछि सबै सहनुपर्छ।”

    उनको परिवार नै उनको सबैभन्दा ठूलो शक्ति हो। बुबा–आमा गाउँमै छन्। काठमाडौंमा श्रीमती र तीन सन्तान छन्—दुई छोरी र एक छोरा। छोरीहरू विद्यालयमा पढ्छन्, छोरा यूकेजीमा। श्रीमतीले सानो जग्गा भाडामा लिएर तरकारी खेती गर्छिन् र केही घरमा काम पनि गर्छिन्। दुवैको कमाइले घरखर्च र पढाइ चलिरहेको छ। “दैनिक काम पाइरहे भयो,” उनी भन्छन्, “त्यो नै ठूलो कुरा हो।”

    राजनीतिप्रति भने उनको खासै भरोसा छैन। द्वन्द्वले खोसेको पढाइ सम्झँदा उनी अझै भक्कानिन्छन्। “नेता बदलिन्छन्, हाम्रो अवस्था खासै बदलिँदैन,” उनी भन्छन्। तर देशप्रतिको माया भने घटेको छैन। भारतमा हुँदा “नेपाल वाला” भनेर बोलाइँदा मन पोल्थ्यो। “आफ्नो देश छोडेपछि मात्रै थाहा हुन्छ नेपाल कति प्यारो रहेछ,” उनी भन्छन्।

    उमेर छ, अवसर छ—चाहे विदेश फेरि जान सक्थे। तर उनले रोजेका छन्—नेपालमै बसेर संघर्ष गर्ने बाटो। “यहीँ दुख गरेर बच्चा पढाउँछु,” उनी दृढ स्वरमा भन्छन्।

    काठमाडौंको सडकमा फोहोर उठाउँदै दौडिरहेका दिनेश तुलङगीलाई धेरैले सायद सामान्य मजदुरका रूपमा मात्र देख्छन्। तर उनको भित्री कथा बुझ्ने हो भने थाहा हुन्छ—यो केवल रोजगारीको कथा होइन, यो स्वाभिमानको कथा हो। अधुरो पढाइ, विदेशको अपमान, महामारीको धक्का र श्रमको अपमान पार गर्दै पनि उनी उभिएका छन्।

    फोहोरका थुप्राभित्र उनी आफ्नो भविष्य खोजिरहेका छैनन्; उनी आफ्ना छोराछोरीको भविष्य सफा गरिरहेका छन्। अनि सायद, त्यही नै उनको सबैभन्दा ठूलो जित हो।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij