काठमाडौं । हिमालका चुचुराहरूमा नेपालको नाम उचाइमा पुर्याउने एक साहसी आरोहीको यात्रा अब टुंगिएको छ। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधनले विश्व पर्वतारोहण समुदाय स्तब्ध बनेको छ।
पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर निर्मल पुर्जासहित अन्य आरोहीको मृत्यु भएको पुष्टि भएको छ। केही दिनदेखि सम्पर्कविहीन रहेका आरोहीहरूको खोजी भइरहेको थियो। प्रारम्भमा निर्मलको ट्र्याकर केही समय सक्रिय देखिएपछि उनी सकुशल उद्धार हुने आशा गरिएको थियो। तर प्रतिकूल मौसमका कारण उद्धार अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेन। अन्ततः उनको आरोहण कम्पनी एलिट एक्सपेडले उनको निधन पुष्टि गर्यो।
म्याग्दीको दाना गाउँमा सन् १९८३ जुलाई २५ मा जन्मिएका निर्मल पुर्जा सामान्य परिवारबाट आएका थिए। बाल्यकालमै उनको परिवार चितवन सरेको थियो। आर्थिक अवस्था सामान्य भए पनि उनका सपना भने सधैं असाधारण थिए। सानैदेखि चुनौतीसँग जुध्ने स्वभाव भएका निर्मलले जीवनलाई नै एउटा कठिन आरोहणका रूपमा लिए।
सन् २००३ मा उनी बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ती भए। सैन्य जीवनकै क्रममा उनले बेलायतको अत्यन्त कठिन र प्रतिष्ठित विशेष फौज स्पेसल बोट सर्भिस (SBS) मा समेत स्थान बनाए। यो उपलब्धि हासिल गर्ने पहिलो गोर्खा सैनिकका रूपमा उनको चर्चा भयो। सैनिक जीवनमा सिकेको अनुशासन, धैर्य र कठिन परिस्थितिसँग जुध्ने क्षमताले उनलाई पछि हिमालको यात्रामा ठूलो बल दियो।
सैनिक जीवनबाट अवकाश लिएपछि उनले आफ्नो सम्पूर्ण ध्यान पर्वतारोहणमा केन्द्रित गरे। सन् २०१२ बाट सुरु भएको उनको आरोहण यात्रा छोटो समयमै विश्वका सबैभन्दा कठिन हिमालहरूसम्म पुग्यो। उनी साहसी, दृढ र तीव्र गतिका आरोहीका रूपमा चिनिन थाले।
तर निर्मल पुर्जाको नाम विश्वभर चर्चित बनाउने अभियान थियो उनको ‘प्रोजेक्ट पोसिबल’। सन् २०१९ मा उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरे। यसअघि यही उपलब्धि हासिल गर्न झन्डै आठ वर्ष लागेको थियो।
धेरैले असम्भव ठानेको लक्ष्यलाई सम्भव बनाएपछि निर्मल विश्वभर चर्चित बने। उनको यही साहसिक यात्रामाथि नेटफ्लिक्सले ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री निर्माण गर्यो। त्यसपछि उनी केवल पर्वतारोही रहेनन्, साहस, आत्मविश्वास र दृढ संकल्पका प्रतीक बने।
निर्मल पुर्जा यसपटक पाकिस्तानको ब्रड पिक आरोहणका लागि सुरुमा तयार थिएनन्। पाकिस्तान जानुअघि उनले सामाजिक सञ्जालमार्फत आफ्नो मुख्य योजना के–२ आरोहण रहेको बताएका थिए। तर अन्तिम समयमा उनले ब्रड पिक आरोहण गर्ने निर्णय गरे। यदि यो आरोहण सफल भएको भए उनले अक्सिजन प्रयोग नगरी विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल दोस्रो पटक आरोहण गर्ने नयाँ इतिहास बनाउने थिए।
आफ्नो अन्तिम सामाजिक सञ्जाल पोस्टमा उनले लेखेका थिए, ‘ब्रड पिकको शिखरमा सुरक्षित रूपमा पुगेर सकुशल फर्कनु बाहेक मलाई केही चाहिएको छैन।‘ तर दुर्भाग्यवश उनको त्यो चाहना पूरा हुन सकेन।
निर्मल पुर्जा कीर्तिमान बनाउने आरोही मात्र थिएनन्। उनले नेपाली पर्वतारोहणलाई विश्वको केन्द्रमा पुर्याउने काम गरे। उनले संसारलाई देखाए कि नेपाली आरोहीहरू केवल हिमाल चढ्ने सहयोगी मात्र होइनन्, उनीहरू विश्व कीर्तिमान बनाउने नेतृत्वकर्ता पनि हुन्।
उनी ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने पाँचौं नेपाली तथा गैर–शेर्पा नेपालीमध्ये पहिलो आरोही बने। उनको सफलताले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलायो।
उनले बारम्बार भन्ने एउटा वाक्य थियो ‘Nothing is Impossible’ यो केवल एउटा भनाइ मात्र थिएन उनको जीवनको दर्शन पनि थियो।
हिमपहिरोले निर्मल पुर्जाको जीवन यात्रा रोकिदिएको छ। तर उनले देखाएको साहस, संघर्ष र असम्भवलाई चुनौती दिने आँट भने सधैं जीवित रहनेछ। नेपालले एक विश्वस्तरीय पर्वतारोही पक्कै गुमाएको छ । तर हिमालका हरेक शिखरमा उनको नाम र उनले दिएको प्रेरणा सधैं रहिरहनेछ।


