Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

गाउँ नै फर्किने योजनामा जोगेन्द्र राम

गाउँ नै फर्किने योजनामा जोगेन्द्र राम

सोमबार, माघ २१ २०८१
सोमबार, माघ २१ २०८१
  • काठमाडौं:काठमाडौंको  चिसो होस् वा झरी ६२ वर्षीय जोगेन्द्र राम जाउलाखेल सडक पेटीमा सधैँ भेटिन्छन् । रौतहट, धमौरा घर भएका उनी ३५ वर्षदेखि पुराना र फाटेका जुत्ता र चप्पल सिलाउन औँला चलाइरहेका छन् । श्रीमती सुभागी देवीसँग जाउलाखेलमै सानो कोठा भाडामा लिएर बसेका  उनी बिहानको खाना खाएपछि आवश्यक सामाग्री लिएर निस्कन्छन् ।   

    images

    सडक पेटी बस्यो अनि ग्राहक कुरेर कस्यो । कहिलेकाहीँ आम्दानी राम्रै भए पनि कुनै दिन एक रुपैयाँ कमाइ नभएको उनको अनुभव छ । उनले भने, “ यो पेसालाई त सबैले हेपेका छन् । मानिसहरूले हेपेर कुरा गरेको देख्दा यो पेसा छाडेर अरू पेसा गर्ने सोच आयो । तर के गर्नु सोच मात्र आएर भएन, त्यसका लागि त धेरै पैसा चाहिन्छ ।” उनले यही पेसाको माध्यमबाट घरपरिवार चलाउनुका साथै छोरीलाई विद्यालयमा पढाए । ६ जना छोरीहरूको बिहे समेत गरिदिए । व्यापार हुँदा राम्रै भए पनि नहुँदा भने हातमुख जोर्ने समस्या भएको उनको गुनासो छ ।   

    अझ अहिले महानगरपालिकाले सडकमा बस्न नदिएपछि त झनै समस्या भएको उनी सुनाउँछन् । उनी भन्छन् ‘पहिले बाटोमा बस्दा त कमाई नि राम्रै थियो अहिले नगरपालिकाले हामीलाई सडकबाट हटाइदियो अहिले धेरै समस्या छ कमाई हूनै छाड्यो ’ यो पेसा सुरुवात गर्न सहज भए पनि सधैँ काम  नपाइँदा दिक्क छन् । “करिब रु पाँच हजार भएमा यो व्यवसाय सञ्चालन गर्न सकिन्छ”, उनले भने, “यो व्यवसायका लागि ब्रस, क्रिम, पोलिस, धागो, जुत्ताको भित्रको सुल, काँटी, तुना, सुलेसन जस्ता सामग्रीको आवश्यकता पर्दछ ।” उनले एकजोर जुत्ता सिलाएको रु एक सय ३० र चप्पल सिलाएको रु एक सय लिन्छन्  । उमेर घर्कँदै गएपछि उनको आँखामा समेत समस्या आउन थालेको छ  । आँखाले पहिलेजस्तो सफा देख्न छाडेको छ । उनले  यो पेसा परिवर्तन गर्ने सोचमा छन् । उनी अब आफ्नै गाउँ फर्किने योजनामा छन् । उनी भन्छन् ‘आँखाले ठम्याउनै समस्या हुन थाल्यो यो काम गर्न सक्दिन होला अब गाउँ नै फर्किने योजनामा छु ’ 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij