Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'चाडबाडमा मात्रै भात खान्थ्यौं'

'चाडबाडमा मात्रै भात खान्थ्यौं'

'जस्तै दुःख भएपनि परिवारसंग एकै ठाउँमा बसेर गाउँको माटोमा मधुमाया फर्किन चाहन्छिन् ।'

शुक्रबार, जेठ ३० २०८२
शुक्रबार, जेठ ३० २०८२

  • काठमाडौं । निलो नातो टाउको बाँधेकी, फुलबुट्टे टिसर्ट र लुंगीमा सजिएकी यी आमालाई यो पहिरन देखेरै दिक्क लाग्न थालिसकेको छ । चाडबाड होस् वा साधारण दिन, उनको लुंगीमै सबै समय बितिरहेका छन् । दशकौं बिते, आफ्ना पुराना पहिरन, शरीरमा नसजाएको पनि । त्यही सम्झनामा उनलाई यतिबेला खल्लो महशुस हुन्छ ।

    images


    तनहुँ जिल्लाको ऋषि गाउँपालिका घर भएकी यी आमाको नाम हो, मधुमाया रानाभाट । उनी यतिबेला छोरासंग काठमाडौंमै छिन् । उनको दुई छोरी र एक छोरा छन् । उनको साहारा भनेकै एक छोरा र बुढेसकालको कालो लौरो नै हो । आफ्नै छोरोको पसलमा लौरोको सहारामा भित्रबाहिर गर्दैै गर्दा भेटिएकी ७३ वर्षकी आमा आफ्नो पालाको लवाइखुवाइ खुबै याद गर्छिन । उनी भन्छिन् 'अहिले लुंगीमै दिन वित्छ । चाडमा लुंगी बेचाडमा पनि लुंगी । पहिले हामी गुन्यो चोलीहरु लगाउथ्यौं । कत्ति सुहाउँथ्यो ।'

    लुगाको फेसनमा आएको परिवर्तनले सजिलो त पक्कै भएको छ तर आफ्नै खालको पहिरनको सम्झना उनी गरिरहन्छिन् । अनि यौवनावस्थाको सम्झना गर्दा उनी खुसीले मुस्काउँछिन् । घाँस दाउराको भारीमा उनको जोवन वितेको पत्तै नभएको बताउँछिन । कामको बोझले उनलाई शिक्षा र विद्यालय के हो भन्ने नै थाहा थिएन् । 'समय त्यतिबेला यस्तो कहाँ थियो र ?' उनी आफै प्रश्न तेर्साउँछिन् । घरकै काम बढी हुने भएकाले गाउँका कसैको घरमा पनि छोरीलाई स्कुल पढाउने चलनै नरहेको उनी बताउँछिन् । 'विद्यालय त थिए, दाजुभाइ त पढे, तर हामी केटी मान्छेलाई बा आमाले पढाएनन् । कसैको पनि दिदी बहिनी पढेका छैनन् । अहिले त छोराछोरीलाई एउटै गर्छन्, छोरी पनि पढ्न जान्छन् तर हाम्रो पालामा छोरीलाई पढ्ने छुट थिएन् ।' 

    स्कुले शिक्षा नपाएकोमा उनलाई पनि कहिँकतै मन दुखेकै छ । तर सामाजिक चलन र रीतिस्थितिले उनी परिबन्धमा पनि परेकी थिइन् । १८ वर्षमा बिहेवारी गरेर त्यसै गाउँमा घर बसाइन् । अनि उनको जिम्मामा फेरि घाँस दाउराको भारीसंगै बिहान बेलुकाको भान्सा र खेतबारीको काम थपियो । काम र दुःखको हिस्सा दोब्बर भए । यद्यपि उनलाई कामले थिचेपनि मन भने खुसी नै थियो । बिहेको चार महिनासम्म आफ्ना श्रीमानसंग बातचित नै भएन । श्रीमान आउँदा लाजले लुक्ने गरेको दिनहरु उनी सम्झन्छिन् । 


    कुराकानीकै क्रममा गाउँघरको खानपान कस्तो हुने रहेछ भनेर सोध्दा बिहेको कुरामा लजाएकी उनी फेरि निर्धक्क खुलेर बोल्छिन् । 'गाउँघरमा हाम्रो त शुद्ध खानपान नै हुन्छ, तर यहाँ शहरमा मिसावट नै छ । हाम्रो जमानामा केही कुरा किन्नै पर्दैनथ्यो । धानबाट चामल, बारीको तरकारीले भान्सा चल्थ्यो । आफू ढिँडो खाने, चाडबाडमा भात र मासु खाने । चाडबाडमा धेरै रमाइलो हुन्थ्यो, लिङ्गे पिङ पनि राखिन्थ्यो, खेलिन्थ्यो । दशैंमा खसी, बंगुर, रांगो पाल्नेहरुले सबैजना मिलेर काटेर खान्छन् । गाउँघरमा त खुब रमाइलो हुन्छ,' उनी सविस्तार कुरा भन्छिन् । 


    दिनहरु बित्दै गए, तर ती सम्झना उनीसंगै छन् । ७ दशकमा उनले धेरै कुरामा भिन्नता देखिन् चाहे त्यो परिवर्तन होस वा  विकास ।  

    सुका मोहर अनि एक रुपैयाँमा उनको आधाउधी जीवन बित्यो । पहिल्लो दशकमा हजारको नोट पनि किनमेलका लागि सस्तो परेको देख्दा उनलाई अचम्म लाग्छ । 'पहिला सुकामाना घिउ पाइन्थ्यो ।  दुःख गरेर बाह्रै मास कोदो, मकै, धान खाने हो । अहिले पैसाले किनेर पनि खाना पाउन मुश्किल छ । पैसा धेरै सामान थोरै छ अहिले ।' उनलाई यो कस्तो परिवर्तन भइरहेछ भन्ने नै अचम्म लाग्दो हो । 

    मधुमाया सम्झन्छिन्, 'गाउँमा दुःख धेरै गरियो । हाम्रो त दिन नै घाँस भारीमा बित्यो । कतै बाहिर हामी घुम्न जाँदैनथ्यौं । यसो सम्झिँदा त हाम्रो पालामा भन्दा अहिले निकै राम्रो छ । गाडी छ, रमाइलो छ ।' पछिल्लो समयमा भारतको बेलगाम घुम्न गएको याद छ । बेलगाममा श्रीमान जागिरे थिए । त्यही अवसरमा उनलाई यो मौका दिलाइएको बुझेकी छिन् उनले । 

    कामकै लागि परदेशमा रहनुपर्ने, गाउँ छोड्नुपर्ने बाध्यतालाई देखेकी अनि भोगेकी छिन् उनले । परिवारको बाध्यतामा उनी लहैलहै लागेर तनहुँबाट काठमाडौं आइन् । 'मलाई यो शहर भन्दा गाउँ नै रमाइलो लाग्छ । दिदी बहिनी, मामा माइजु, छ्यामा सबै छन् भेटघाट कुराकानी धेरै हुन्छ । यहाँ त भीडभाड मात्रै । फुर्सदमा अलिअलि कुराकानी हुन्छ त्यत्ति हो ।'

    रहनसहन, खानपानमा आएको परिवर्तनमा मधुमायाको मन पटक्कै खुसी छैन् । जस्तै दुःख भएपनि परिवारसंग एकै ठाउँमा बसेर गाउँको माटोमा फर्किन चाहन्छिन्, अनि बाँकी दिनहरु ऋषि गाउँपालिकामा आफ्नै संगीहरुसंग बिताउन चाहन्छिन् ।


     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij