काठमाडौं । ललितपुरको पाटनमा जन्मिएका सरुप ताम्राकारलाई ट्याटु स्टुडियोमा भेट्दा हामीले ट्याटु खोप्न आएका ग्राहक रहेछन् भन्ने अनुमान ग¥यौं। भर्खरका देखिने यी युवाको पाखुरा, नाडी र खुट्टाका छालामा विभिन्न खाले ट्याटु खोपिएका छन् । उनीसंग कुरा गर्दै जाँदा उनी ग्राहक नभएर ट्याटु खोप्ने सिप भएका कलाकार रहेछन् जो आफैले अरुको छालामा ग्राहकको इच्छा अनुसार चित्र कोर्छन्, जुन पेन्ट गर्ने चित्र भन्दा फरक हुन्छ । उनको यो स्टुडियोका कोठाभरि भित्तेकला देख्दा उनी चित्रकलामा रुचि औधी राख्छन् भन्ने अनुमान लगाउन कत्ति पनि गाह्रो हुँदैन् । उनको स्टुडियोको रौनक भनेकै आफ्नो पालो कुर्दा पनि आनन्दले मनमस्तिष्क भुलाउने यी भित्ते चित्रकला नै हुन् ।
उनको ट्याटु खोप्ने व्यवसाय सुरु भएको ८ वर्ष नाघिसक्यो । उनलाई बच्चा बेला देखि नै चित्र कोर्न, त्यसमा सुहाउँदो रंग भर्न असाध्यै मनपर्छ । स्कुले जीवनमा पनि चित्रकलामा धेरै प्रतिभा देखाउँथे उनी । उनको यही लगावका कारण यो ट्याटु स्टुडियोको जन्म भएको मान्छन् । ट्याटु नै गर्छु भनेर उनले आफ्नो व्यवस्थापन संकायको पढाइलाई स्नातकसम्म सिमित राखे, अनि सिप सिक्नतिर बढी समय खर्चिए ।
उनले ट्याटु व्यवसाय नै गर्ने योजना बनाइसकेपछि यसमा तीन महिने तालिम पनि लिए । सुरु सुरुमा उनले छाला जस्तै देखिने स्कीन प्याडमा ट्याटु खोपे । त्यसमै आफ्नो हातेकलालाई अझ राम्रो बनाउने अभ्यास गरिरहे । बिस्तारै बिस्तारै उनको हातबाट मेसिनमार्फत तिख्खर कलाकृति आएपछि मात्रै उनले मानिसकै छालामा अब ट्याटु बनाउन सक्छु भन्ने आत्मविश्वास पलाएको सरुप बताउँछन् ।
सरुपले सुरुमै अरुको छालामा गर्नुभन्दा पहिला आफ्नो खुट्टामा ट्याटु हाने । किनभने उनलाई ट्याटु खोप्दा हुने पिडा महशुस गर्नुथियो । ग्राहकलाई ट्याटु खोेप्दा कस्तो महशुस हुन्छ होला भन्ने बल्ल उनले थाहा पाए । त्यसपछि उनले वरिष्ठ ट्याटु आर्टिस्टसंग पनि ट्याटु खोपे । अर्कैको ट्याटु स्टुडियोमा केही समय काम गरेर अनुभव संगाले । त्यतिबेला ट्याटु आर्टिस्टहरुको हाउभाउ, मेसिन चलाउने प्रतिभा नियाले अनि आफ्नै व्यवसाय थालेर ठ्याक्कै ट्याटु आर्टिस्टले जस्तै काम गरे ।
उनलाई अहिले अरुका छालामा ट्याटु खोप्ने आत्मविश्वासको विकास गरिसकेका छन् । उनी भन्छन्, हेर्दा कलर पेन्ट गरेको जस्तो देखिन्छ, तर अरुको छालामा घाउ पारेको जस्तो त हो, गाह्रो त हुन्छ । उनले यो व्यवसायमा १० लाख लगानी गरेका छन् । उनको यो व्यवसायमा केही काम गर्ने आर्टिस्ट पनि छन् उनीहरुलाई प्रतिशतका आधारमा पैसा दिने गरेको उनी बताउँछन् ।
उनका अनुसार यो व्यवसायमा विदेशबाटै सामानहरु आयात हुन्छन् । अमेरीका, भारत र चीनका सामानहरु यहाँ प्रयोग हुन्छन् । मैले परिवारका अन्य सदस्य जस्तै दिदीहरुलाई सानातिना ट्याटु खोपाएको छुँ । आमाले पनि ट्याटु खोप्ने इच्छा देखाउनु भएको छ । विस्तारै आफन्तसंगै अरु ग्राहक पनि बढ्दै छन् । दिनमा एक जना ग्राहक त कहिल्यै छुटेको छैन, उनले आफ्नो अनुहारमा छुट्टै खुसी देखाउँछन् ।
एक ट्याटु हान्नलाई २५ थरि सामानको प्रयोग गर्छन् उनी । ग्राहकलाई चित्तबुझ्दो काम गरेकै कारण ग्राहकबाट ग्राहक तानिरहेका छन् उनी । आफ्नो सामान, कामको अनुभव र गुणस्तरकै कारण पनि उनको ट्याटुको मूल्य बढेको छ । सामान्य टुयाटु खोपेको आधारमा उनी ४ हजार सम्म लिन्छन् । महिनामा उनी ३ देखि ४ लाखको हाराहारीमा यी स्टुडियोबाट कमाउँछन् ।
उनका अनुसार छालामा ट्याटु खोपाएपछि हिलिंगका आधारमा घाउ पाक्ने वा नपाक्ने भन्ने हुन्छ । तर गुणस्तरीय सामान प्रयोग भएकाले ट्याटु विग्रिएको र घाउ पाकेको भन्ने गुनासो नआएको उनी बताउँछन् । नेपालमा ट्याटुको व्यवसाय अझ विस्तार गर्ने सोचमा छन् । उनलाई यही स्टुडियोको शाखा अन्य स्थानमा खोल्ने मन छ । अनि उनले अर्को क्षेत्रमा पनि हात हालेको बताउँछन् । उनको लगानी जिम व्यवस्थापनमा पनि छ । तर कलामा धेरै रुचिले उनको धेरै समय यही स्टुडियोमा बित्छ । सानै उमेरमा नेपालमै सम्भावना भएको पेशामा लगानीबाट उनले आफ्नो भविष्य सुनिश्चित गर्ने स्पष्ट खाका बनाइसके । अनि सम्भावनामाथि आत्मविश्वासका साथ गरेको लगानीको प्रतिफल पनि चाख्दै छन् । यो सफलता र नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सोचका लागि हाम्रो पनि समर्थन अनि शुभकामना छ, सरुप ताम्राकारलाई ।


